धनुषामा ठूलो मात्रामा लागूऔषध बरामद, ८३५ किलो गाँजा नियन्त्रणमा

जनकपुरधाम असोज ३ । सशस्त्र प्रहरीले धनुषाको विदेह नगरपालिका–३ स्थित गोबराहीबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। बाँसघारी क्षेत्रको एउटा टहरोभित्र लुकाएर राखिएको ८३५ किलोग्राम गाँजा सशस्त्र प्रहरीले आज दिउँसो फेला पारेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं। ८ गण धनुषाबाट प्रहरी निरीक्षक हेमन्त लिम्बुको नेतृत्वमा खटिएको २७ जनाको टोलीले उक्त गाँजा बरामद गरेको हो।

गाँजा गोबराहीका स्थानीय जोगिन्द्र साहको बाँसघारीभित्र रहेको टहरोमा लुकाई राखिएको अवस्थामा भेटिएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी एसएसपी अशोक बमले जानकारी दिए। बरामद गरिएको गाँजालाई थप अनुसन्धानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको बताइएको छ। सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर