चार मान्छे खाएको बाघ समातिएपछि त्रास कम

बारा असोज ३ । बाराको जंगलमा पछिल्ला तीन महिनामा चार जनाको ज्यान लिएको र एक सैनिक हवलदारलाई घाइते बनाएको नरभक्षी बाघलाई अन्ततः सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन्।

राष्ट्रिय प्रकृति संरक्षण कोषबाट खटिएको विज्ञ टोलीको प्राविधिक सहयोगमा नेपाली सेना, प्रहरी र डार्टिङ विशेषज्ञहरूको समन्वयमा बाघलाई नियन्त्रणमा लिइएको हो। बाघ बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित चुरियामाई सामुदायिक वनको आधाभार क्षेत्रबाट समातिएको प्रहरी चौकी अमलेखगञ्जका वरिष्ठ सई धनबहादुर श्रेष्ठले जानकारी दिए।बाघको गतिविधि पत्ता लगाउन राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरूले चुरियामाई सामुदायिक वनका तीन स्थानमा राँगालाई बँधेर निगरानी क्यामरा जडान गरेका थिए। क्यामराले बाघले राँगामाथि आक्रमण गरेको दृश्य कैद गरेपछि, सोही आधारमा बाघलाई डार्ट गरी बेहोस पारेर नियन्त्रणमा लिइएको हो।

सुरक्षाकर्मी र प्राविधिक टोलीले बाघ नियन्त्रणमा लिन ६ वटा हात्तीको सहयोग लिएको थियो। नियन्त्रणमा लिइएको बाघलाई हाल पर्सा राष्ट्रिय निकुञ्जमा राखिएको छ। स्थानीय क्षेत्रमा आतंक मच्चाउँदै आएको यो नरभक्षी बाघको नियन्त्रणपछि बासिन्दाहरूले केही राहत महसुस गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर