काठमाडौँद भदौ २९ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका अध्यक्ष रवि लामिछाने शनिबार साँझ ललितपुरस्थित नख्खु कारागार पुगेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार लामिछानेले कागजी प्रक्रिया मिलाउने कार्यमा संलग्न रहेका छन्।
भदौ २४ गतेको जेनजी आन्दोलनको उग्र रूपका कारण कारागार प्रशासनले सुरक्षा चुनौती देखाउँदै उनलाई कारागारबाट बाहिर निकालेको थियो। त्यसै दिन कारागारभित्रै आगजनी, तोडफोड, र कैदीहरू फरार हुने घटना भएको थियो।
१० हजारभन्दा बढी कैदी अझै सम्पर्कविहीन
घटनापछि देशभर १०,००० भन्दा बढी कैदीबन्दी कारागार बाहिर रहेको अनुमान गरिएको छ। कारागार विभाग र नेपाल प्रहरीको आग्रहपछि लामिछाने शनिबार साँझ कारागार फर्कन सहमत भएको जनाइएको छ।प्रहरी स्रोतअनुसार, कारागार प्रशासन अहिले लामिछानेको पुनः आवास व्यवस्थापन र सुरक्षा रणनीति मिलाउन विशेष सतर्कता अपनाइरहेको छ।
सुरक्षा संकट र नेतृत्वको दबाब
रास्वपा अध्यक्ष लामिछाने भ्रष्टाचार विरोधी आन्दोलनमा सक्रिय भूमिका निभाउँदै आएका थिए। आन्दोलन उत्कर्षमा पुगेकै बेला कारागारबाट बाहिरिनुपरेपछि आलोचना र समर्थन दुबै पाएका थिए। अब उनी कारागार फर्किनु, सरकार र प्रशासनको समन्वय प्रयासको भाग भएको बताइएको छ। यसले अन्य फरार कैदीहरूलाई पनि फर्कन प्रेरित गर्ने आशा गरिएको छ।
