काठमाडौँ भदौ २९ । गत भदौ २४ गते काठमाडौंसहित देशभर व्यापक रुपमा भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ। साथै मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत प्रदान गरिने भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्ने कार्यक्रममा उक्त निर्णय सार्वजनिक गरिएको हो। कार्यक्रमको प्रत्यक्ष प्रसारणमार्फत जानकारी दिँदै, सरकारका तर्फबाट घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको पनि स्पष्ट पारिएको छ। सरकारी विवरणअनुसार हालसम्म आन्दोलनका क्रममा ७२ जनाले ज्यान गुमाएका छन्।
५९ जना प्रदर्शनकारी
१० जना कैदीबन्दी
३ जना सुरक्षाकर्मी
यसका अतिरिक्त, १३४ जना प्रदर्शनकारी र ५७ जना सुरक्षाकर्मी गरी १९१ जना घाइतेहरूको उपचार भइरहेको छ। गत सोमबार संसद भवन घेर्न पुगेका प्रदर्शनकारीहरूलाई रोक्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा झडप चर्किएको थियो। यसैका क्रममा व्यापक क्षति भएको र अहिलेसम्म पूर्ण क्षतिको विवरण संकलन भइरहेकै जानकारी दिइएको छ। सरकारले सम्बन्धित मन्त्रालयहरूलाई क्षतिको विवरण संकलन गर्न निर्देशन दिइसकेको छ।
यस आन्दोलनको नेतृत्व जेनजी समूहले गरेको हो, जसले भ्रष्टाचार विरुद्धको आवाज, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने माग, र प्रशासनिक पारदर्शिताको आग्रह गर्दै प्रदर्शनको आह्वान गरेको थियो।
