रौतहट भदौ २८ । रौतहटको सदरमुकाम गौरस्थित कारागारबाट भागेका कैदीबन्दीलाई सुरक्षाकर्मीले क्रमशः पक्राउ गरिरहेका छन्। प्रमुख जिल्ला अधिकारी सीडीयो विनोदकुमार खड्काका अनुसार हालसम्म ९१ जना कैदी पुनः कारागारमा फर्किएका छन्।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा सुरक्षा बल एसएसबी भारतको संयुक्त प्रयासमा ४७ जना कैदी नेपालभित्रै समातिएका छन् भने भारतले १७ जना फरार कैदीलाई नियन्त्रणमा लिएर नेपाल पठाइसकेको छ। गौर कारागारमा कुल २९१ जना कैदी सजाय भुक्तान गरिरहेका थिए। दंगाको दिन २७ मात्र भित्र थिए। सुरक्षाकर्मीको व्यापक खोजी अभियानपछि हाल कारागारमा ९१ कैदी फर्किएका छन् भने अझै करिब २०० कैदी फरार रहेको सीडीयो खड्काले जानकारी दिएका छन्। सीडीयो खड्काले फरार रहेका कैदीहरूलाई शीघ्र आत्मसमर्पण गर्न आग्रह गर्दै भनेका छन्, “असहज परिस्थितिको फाइदा उठाएर भागेका कैदी जहाँ भए पनि तुरुन्त उपस्थित भई राज्यलाई सहयोग गर्नुपर्छ। नत्र मुद्दा अनुसार थप कानुनी कारबाहीमा पर्न सक्छन्।”
उनले स्थानीय जनसमुदायलाई पनि सहयोग गर्न आग्रह गरेका छन्। “गाउँ–टोल, छिमेकमा लुकेर बसेका कैदीबारे जानकारी भए तुरुन्त सुरक्षा निकायलाई खबर दिनुहोस्,” उनले भने। रौतहटको समग्र अवस्था सामान्यतर्फ उन्मुख हुँदै गएको र सदरमुकाम गौरसहित चन्द्रपुर क्षेत्रमा शान्ति कायम गर्न सुरक्षा बल सक्रिय रहेको पनि सीडीयो खड्काले उल्लेख गरे। जिल्लामा निषेधाज्ञा अझै जारी रहेको भन्दै उनले अत्यावश्यक कामबाहेक घरमै बस्न आग्रह गरेका छन्। “शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई सहयोग गर्नु नागरिकको साझा दायित्व हो,” सीडीयो खड्काको भनाइ छ।
