जनकपुरधाम भदौ २८ । रौतहटको गौर नगरपालिका–६ की १० वर्षीया अमृता साह जितिया पर्वको नहायखायका क्रममा नदीमा स्नान गर्ने क्रममा बेपत्ता भएकी छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अमृता शुक्रवार बिहान लाल बकैया नदीमा व्रतालु महिलासँगै स्नान गर्न गएकी थिइन्। स्नानका क्रममा उनी अचानक खोलामा डुबेर हराएको बताइएको छ। घटनापछि स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी कार्य सुरु गरेको छ। तर समाचार तयार पार्दासम्म बालिकाको अवस्था पत्ता लाग्न सकेको छैन। जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार खोजी कार्य जारी छ।
घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ। डुबेको अनुमान गरिएको क्षेत्रमा खोजी भइरहेको छ, डिएसपी कार्कीले जानकारी दिनुभयो। जितिया पर्वको अवसरमा ब्रतालु महिलाहरूले नहायखायका दिन नदी तथा तलाउमा सामूहिक स्नान गर्ने परम्परा रहिआएको छ। उक्त परम्परामा सहभागी भएकी अमृता साहको डुबेर बेपत्ता भएको खबरले स्थानीय समुदायलाई स्तब्ध पारेको छ।
