सिराहा प्रशासनको निर्देशन : अनावश्यक हर्न र माइक प्रयोगमा रोक

सिरहा भदौ २७ । सिराहा जिल्लामा ध्वनि प्रदूषण रोकथामका लागि प्रमुख जिल्ला अधिकारी प्रजिअ बसन्त अधिकारीले कडाइका साथ आदेश जारी गरेका छन्। भदौ २७ गते, शुक्रबार जारी आदेशमा सामाजिक, धार्मिक र राजनीतिक कार्यक्रमहरूमा डिजे साउण्ड सिस्टम प्रयोग गरी चर्को आवाजमा गीत संगीत बजाउने कार्य तत्काल रोक्न भनिएको छ।

प्रशासनका अनुसार पछिल्लो समय विभिन्न कार्यक्रमहरूमा चर्को ध्वनी बजाउने प्रवृत्तिले अस्पताल, विद्यालय, कार्यालयजस्ता संवेदनशील स्थानहरूमा समस्या सिर्जना गरेको छ। साथै, यसबाट स्थानीय मौलिक बाजागाजा र लोकसंस्कृति पनि विस्थापित हुने खतरा देखिएको प्रशासनको तर्क छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ३ (क) अनुसार जारी आदेशले डिजे साउण्ड, सवारीमा राखिएका स्पिकरमार्फत बजाइने चर्को ध्वनी, र नित्य पूजामा प्रयोग हुने अत्यधिक आवाजयुक्त माइकसमेतलाई नियन्त्रणमा राख्ने स्पष्ट गरिएको छ।

प्रशासनले चेतावनी दिएको छ कि आदेश उल्लंघन भएमा डिजे सामग्री जफत गरिनेछ र कानुनी कारबाही अघि बढाइनेछ।धार्मिक स्थलहरू — मन्दिर, मस्जिद, चर्च, गुम्बाजस्ता स्थानहरूमा हुने नित्य पूजाका क्रममा पनि माइकको ध्वनी सन्तुलनमा राख्न आग्रह गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर