जेनजी आन्दोलनमा ध्वस्त भएको रौतहटको हर्साहा चौकी स्थानीय सहयोगमा पुनः सञ्चालनमा

रौतहट भदौ २७ । रौतहटको गौर–चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत पर्ने हर्साहा प्रहरी चौकी, जो जेनजी आन्दोलनका क्रममा आगजनीले पूर्णरूपमा क्षतिग्रस्त भएको थियो, स्थानीयवासीको सक्रिय सहयोगमा पुनः सञ्चालनमा आएको छ। शुक्रबारदेखि सो चौकीले नियमित सेवा पुनः सुरु गरेको हो।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले चौकी पुनःसञ्चालनमा योगदान दिने सम्पूर्ण भद्रभलाद्मी र स्थानीय जनसमुदायप्रति आभार प्रकट गरे। उनले भने, “नेपाल प्रहरी जनताको ज्यान–धनको सुरक्षाका लागि २४ सै घण्टा तत्पर रहन्छ। तत्कालको आवेगमा चौकीलाई क्षति पुगे पनि सज्जन जनताले यसलाई उठाउने प्रयास गर्नु सकारात्मक कदम हो।”

प्रहरी कार्यालयले सामाजिक सञ्जालमार्फत प्रहरी बलियो बनाऔं, कानुनी शासन सुदृढ गरौं भन्ने अपील समेत सार्वजनिक गरेको छ। चौकी पुनःसञ्चालनसँगै स्थानीयवासीले प्रहरी–जनता सहकार्यको बलियो सन्देश दिएका छन्। प्रहरीका अनुसार, यस पुनर्स्थापनाले केवल भौतिक संरचना मात्र होइन, कानूनको निरन्तरता र सामुदायिक सहभागिताको पनि प्रतीक बोकेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर