सप्तरी भदौ २७ । सप्तरी स्थित कारागार कार्यालयबाट बुधबार गेट तोडेर फरार भएका कैदीमध्ये ५७ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, ३९७ कैदीमध्ये २०५ जना फरार भएका थिए। तीमध्ये हालसम्म जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई पुनः नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकामध्ये पाँच जना झुम्का कारागारबाट फरार भएका व्यक्ति रहेको प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिनुभयो। अहिले पनि १५३ जना फरार कैदीको खोजी कार्य जारी छ। राजविराज नगरपालिका–६ मा रहेको कारागारमा बुधबार कैदीहरूले भित्रै आगजनी गरी मुख्य गेट फोडेर भागेका थिए। सो घटनापछि सशस्त्र प्रहरीसहित सुरक्षा निकाय परिचालन गरिएको छ।
प्रहरीले भारतको बिहार राज्यसँग जोडिएका कुनौली र सखडा बोर्डर क्षेत्र आसपास तथा छिमेकी जिल्लाहरूमा खोजी तीव्र बनाएको जनाएको छ। सीमावर्ती क्षेत्रहरूमा उच्च सतर्कता अपनाइएको छ भने आवश्यक परे भारतीय सुरक्षा निकायसँग समन्वयमा खोजी बढाइने बताइएको छ। सुरक्षा निकायले बाँकी फरार कैदीहरूलाई चाँडै नियन्त्रणमा लिने दाबी गर्दै स्थानीयवासीलाई सहयोग गर्न आग्रहसमेत गरेको छ।
