काठमाडौँ भदौ २६ । देशभर आज आकाश सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन सक्रिय रहँदा न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानमा तथा पश्चिमतर्फ केही उत्तरतिर सरेकोले देशका धेरै भू–भागमा वर्षाको सम्भावना रहेको मौसमविद्हरू बताउँछन्।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रहरूमा केही स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ। तराईका भू–भागहरूमा पनि थोरै स्थानमा पानी पर्ने सम्भावना रहेको जनाइएको छ। मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा एक–दुई स्थानमा भने भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ। साथै, कोशी प्रदेशको पहाड तथा मधेश, गण्डकी र लुम्बिनीका तराई भू–भागहरूमा पनि भारी वर्षाको सम्भावना कायमै छ।
यात्रा र दैनिकीमा असर पर्न सक्ने भएकाले जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ।
