वीरगन्जमा उठ्यो युवा स्वर: जेनजीको सरकारविरुद्धको शान्तिपूर्ण प्रदर्शन

पर्सा भदौ २३ । सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको नियन्त्रण प्रयासको विरोधमा नयाँ पुस्ता — जेनजी Gen- Z ले देशव्यापी प्रदर्शनमा उत्रिएका छन्।

सोमबार आयोजना गरिएको यो प्रदर्शनले काठमाडौं, पोखरा, बिराटनगर, बुटवलजस्तै वीरगन्जमा पनि उल्लेखनीय उपस्थिति देखाएको छ। वीरगन्जका युवाहरू स्वतःस्फूर्त रूपमा भेला भई शान्तिपूर्ण तर बुलन्द आवाजमा सरकारलाई जबाफदेही बनाउन माग गरेका छन्। प्रदर्शनमा सहभागी युवाहरूले भ्रष्टाचारको अन्त्य, सरकारी पारदर्शिता, र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट स्वतन्त्र बनाउने माग राखेका छन्। उनीहरूले “भविष्य बेच्न पाइँदैन”, “हामी डराउँदैनौं”, “सञ्चारमाथि नियन्त्रण होइन, सुधार चाहिन्छ” भन्ने नारासहित प्रदर्शन गरेका थिए।

एक सहभागी युवाले भने, “हामी सरकारविरुद्ध होइनौं, तर बेथिति र भ्रष्टाचारविरुद्ध हौं। हामी भविष्यका लागि स्वस्थ प्रणाली चाहन्छौं।” सामाजिक सञ्जालमाथि सरकारले नियमन गर्ने संकेत दिएको भनी युवा पुस्ता आक्रोशित देखिएको छ। जेनजी पुस्ताले यो कदमलाई अभिव्यक्तिको स्वतन्त्रतामाथिको हस्तक्षेपको रूपमा लिएको छ।

संगठित नेतृत्वबिना पनि एकजुट आवाज

यो आन्दोलन कुनै राजनीतिक पार्टी वा नेतृत्वद्वारा सञ्चालित नभई, युवाहरूको स्वतन्त्र र संगठित प्रयास हो। खासगरी टिकटक, इन्स्टाग्राम, फेसबुकजस्ता माध्यमबाट सञ्जालमा गोलबन्द भएर उनीहरू सडकमा उत्रिएका छन्। वीरगन्जमा भएको प्रदर्शनले यो स्पष्ट देखाएको छ कि यो लहर केन्द्रबाट मात्र होइन, देशका सबै कुनाबाट उठिरहेको जनदबाब हो।

प्रतिक्रिया
सम्बन्धित खवर