काठमाडौँ भदौ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालविरोधी भएको आरोपलाई खारेज गर्दै आफू अनुशासनहीनता र बेथितिको विरोधी भएको स्पष्ट पारेका छन्।
एमालेको दोस्रो विधान सभामा व्यक्त विचारलाई लिएर सामाजिक सञ्जालमा उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै ओलीले आज टिकटकमार्फत भिडियो सन्देश सार्वजनिक गरेका हुन्। उक्त सन्देशमा उनले जेनजी पुस्ताप्रति विश्वास व्यक्त गर्दै, केही व्यक्तिहरूले युवापुस्तालाई भड्काउने प्रयास गरिरहेको आरोपसमेत लगाए। “हामी सामाजिक सञ्जालको विरोधी होइनौं,” ओलीले भने, “तर बेथिति, गालीगलौज, अराजकता, अनि हेपाहा प्रवृत्तिको विरोधी हौं।”
उनले जेनजी ९न्भल श्० पुस्ता कानुन बुझ्ने, विवेकशील र लोकतन्त्रप्रति आस्थावान रहेको बताउँदै भने, “जेन्जी पुस्तालाई जसले भड्काउन खोजेका छन्, त्यो बेकारको कुरा हो। उनीहरू कानुन मान्दछन् र बुझ्दछन्।” प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति हालै देशभर फैलिरहेको युवा आन्दोलनसँग सम्बन्धित मानिएको छ, जहाँ युवाहरू — विशेषतः जेनजी पुस्ता — सरकारको भ्रष्टाचार, अराजकता, र सामाजिक सञ्जालमाथि सम्भावित नियन्त्रणको विरुद्ध सडकमा उत्रिएका छन्।
उनको यो वक्तव्यले सरकारले सामाजिक सञ्जालमाथि लगाउन खोजेको सम्भावित नियन्त्रण र नियमनबारे उठेका प्रश्नहरूलाई केही हदसम्म सम्बोधन गर्ने प्रयास देखिएको छ।
