जनकपरधाम भदौ २३ । सामाजिक सञ्जाल नियन्त्रण गर्ने सरकारी प्रयास, बढ्दो भ्रष्टाचार र प्रशासनिक अव्यवस्थाको विरोधमा जनकपुरमा समेत जेनजी पुस्ता सडकमा उत्रिएको छ।
काठमाडौं, विराटनगर, बुटवललगायत देशका प्रमुख सहरहरूमा फैलिएको यो युवा आन्दोलन अब मधेश प्रदेशको राजधानी जनकपुरसम्म पुगेको छ। स्वतस्फूर्त रूपमा जुटेका युवाहरूले जनकपुरका सडकहरूमा सरकारविरुद्ध नाराबाजी गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागी युवाहरूले कुनै राजनीतिक झन्डा नभई “सजग नागरिक”को हैसियतमा आवाज उठाइरहेका छन्। उनीहरूका हातमा “भ्रष्टाचार हटाउ, भविष्य बचाउ”, “सञ्चारमाथि नियन्त्रण होइन, सुधार चाहिन्छ” जस्ता प्लेकार्डहरू देखिन्थे।
सामाजिक सञ्जाल प्रतिबन्धको चेतावनीसँगै आक्रोशित युवाहरू देशव्यापी रूपमा गोलबन्द हुन थालेका छन्। जनकपुरको प्रदर्शनले यो आन्दोलन मधेसमा पनि गहिरिँदै गएको संकेत दिएको छ। एक सहभागीले भने, “हामी शासन चाहन्छौं, शोषण होइन। हाम्रा अभिव्यक्ति स्वतन्त्रताको अधिकार कटौती गर्न पाइँदैन।” जेनजीको यो आन्दोलन केन्द्रविन्दुमा रहँदै जाँदा देशको राजनीतिक नेतृत्वले यसप्रति कस्तो प्रतिक्रिया जनाउने हो भन्ने चासो बढ्दो छ।
