मिथिलाञ्चलमा भाद्र पूर्णिमाको अवसरमा दिवंगत पुर्खाको तर्पण सम्पन्न

जनकपुरधाम भदौ २२ । भाद्र पूर्णिमाको पावन अवसरमा आइतबार मिथिलाञ्चलका विभिन्न स्थानहरूमा दिवंगत पुर्खाको आत्माको शान्ति र मोक्षको कामना गर्दै तर्पण गरियो। विशेषगरी जनकपुरधामस्थित गंगासागर पोखरीमा बिहानैदेखि श्रद्धालुको बाक्लो भीड देखियो।

श्रद्धालुहरू काँक्रो, अक्षता र फूलमाला बोकेर पोखरीमा स्नान गरी आफ्नो कुल, गोत्र र पितृहरूको नाम स्मरण गर्दै जल अर्पण गरेका थिए। चामल, तिल र काँक्रो अर्पण गर्ने यो परम्पराले धार्मिक महत्त्व बोकेको छ।पण्डित राधाकान्त झाका अनुसार, भाद्र पूर्णिमामा विशेषगरी अगस्त मुनिलाई तर्पण गर्ने परम्परा छ, जो पितृहरूको अग्रज मानिन्छ। यस दिन गरिने तर्पणले पितृ आत्मा प्रसन्न भई परिवारमा सुख–शान्ति ल्याउने धार्मिक विश्वास छ। जनकपुर मात्र नभई धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा र पर्साका नदी, ताल र पोखरीहरूमा समेत तर्पण गरिएको थियो। महोत्तरीको बरुणसर पोखरी, सिरहाको कमला नदी, सप्तरीको कमलदह र बागमती नदी किनारमा श्रद्धालुको भीड लागेको थियो। गाउँघरमा पनि परिवारका सदस्यहरूले सामूहिक रूपमा पूजा तथा तर्पण गरेका थिए।

पण्डित मुकेश झाकाका अनुसार, पितृ तर्पणसँगै दान–दक्षिणाको पनि विशेष महत्व हुन्छ। आज धेरै श्रद्धालुले अन्न, फलफूल र दक्षिणा दान गरेका थिए भने कतिपयले गरिब तथा विपन्नलाई भोजन वितरण गरेर पुण्य कमाएका छन्। यसैगरी भोलिदेखि आश्विन कृष्ण पक्षको प्रतिपदादेखि शुरू हुने १६ दिन लामो पितृ पक्ष ९पार्वण पर्व० सुरु हुनेछ, जसमा दिवंगत पितृलाई सम्झेर श्राद्ध, पिण्डदान र तर्पण गरिन्छ। धर्मशास्त्र अनुसार पितृ पक्ष पितृ ऋण तिर्ने उत्तम समय मानिन्छ र यस समयमा गरिएका क्रियाकलापले सन्तान वृद्धि, सुख–समृद्धि ल्याउने विश्वास छ।

जनकपुरको गंगासागरलाई पितृ तर्पणका लागि पवित्र स्थल मानिन्छ। जनश्रुतिअनुसार त्रेतायुगमा भगवान राम, सीता र ऋषि–मुनिहरूले यही पोखरीमा स्नान गरी पितृलाई तर्पण गरेका थिए। यसै कारण यहाँ भाद्र पूर्णिमा र पितृ पक्षमा विशेष चहलपहल हुने गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर