विराटनगर भदौ १२ । नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सीमा समस्या आपसी संवादमार्फत समाधान गर्नुपर्ने बताएका छन्।
विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भारतसँगको सीमा विवाद विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका विषयमा विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सहमति बनेको स्मरण गराएका हुन्।प्रचण्डले भने, पछिल्लो पटक प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणका बेला आयोजित प्रेस ब्रिफिङमा सीमा विवादबारे स्पष्ट चर्चा भएको थियो। प्रधानमन्त्री मोदीले पनि सिमाना समस्या संवादबाट समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उनले प्रधानमन्त्रीको रूपमा भारत भ्रमणका क्रममा सीमा विवाद समाधान नगरी दुई देशबीचको सम्बन्ध पूर्णरूपमा सुदृढ हुन नसक्ने कुरामा जोड दिएको पनि उल्लेख गरे।
सीमा विवादबारे कूटनीतिक पहलको संकेत
प्रचण्डको भनाइले नेपाल–भारतबीच सीमा विवादका विषयमा राजनीतिक तहमा संवादको सम्भावना अझै बाँकी रहेको संकेत गर्छ। हाल प्रतिनिधि सभामा शिक्षा विधेयक, बजेट लगायतका विषयहरू चर्चामा रहेका बेला विदेश नीतिमा पनि स्थायीत्व र स्पष्टताका लागि राजनीतिक नेतृत्व सक्रिय देखिएको छ।
