“सिरहा–उदयपुर जोड्ने २२ किमि अन्तरप्रदेशीय सडक मार्ग खोलिने तयारी”

सिरहा भदौ ११ । सिरहाको गोलबजारदेखि उदयपुरको कटारी–६ स्थित रिस्कुसम्म झण्डै २२ किलोमिटर लामो अन्तरप्रदेशीय सडकमार्ग निर्माणको काम सुरु हुने भएको छ। यो सडक सघन सहरी तथा भवन निर्माण आयोजना, सप्तरीद्वारा निर्माण गरिनेछ, जसले पूर्व–पश्चिम राजमार्गलाई चुरे क्षेत्र पार गर्दै मदन भण्डारी लोकमार्गमा जोड्नेछ।

आयोजनाको प्रारम्भिक चरणका लागि चालु आर्थिक वर्ष २०८२ र ८३ मा ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। इञ्जिनियर उदयनारायण चौधरीका अनुसार, विस्तृत परियोजना प्रतिवेदन ९म्एच्० र वातावरणीय मूल्याङ्कनको कामका लागि पाँच सदस्यीय समिति गठन भइसकेको छ, र चालु वर्षमै ३ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य छ।

नयाँ सडक चोहर्वा बजार हुँदै चुरेफेदीका बस्ती पार गर्दै उदयपुरको रिस्कुसम्म पुग्नेछ। अहिले रिस्कुवासीहरू लामो र घुमाउरो बाटो भएर मर्चैया वा कदमहा बजार पुग्न बाध्य छन्। नयाँ मार्गले समय, खर्च र ऊर्जा बचत गर्नेछ। विशेषगरी चाडपर्वमा बजार जान सजिलो हुने स्थानीयको प्रतिक्रिया छ। स्थानीय बासिन्दा क्षेत्रकुमार आले भन्छन्, “सडक बनेपछि यातायात सहज हुन्छ, व्यापार बढ्छ र विकास आउँछ।” व्यापारी सञ्जय यादवका अनुसार, “तराई र पहाडबीचको कृषि उत्पादनको आदान–प्रदान सजिलो भई ढुवानी खर्च घट्नेछ।”

सडक निर्माणको समन्वयका लागि पूर्वकानुनमन्त्री लिलानाथ श्रेष्ठ, प्रदेशसभा सदस्य मनोजकुमार सिंह, नगरप्रमुख श्यामकुमार श्रेष्ठ, वडा अध्यक्षहरू र आयोजनाका इञ्जिनियरको टोली सक्रिय छ। श्रेष्ठले समितिलाई एक महिनाभित्र सडक ट्रेस निर्धारण गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन्। चोहर्वा बजार विकास समितिका अध्यक्ष नागेन्द्रकुमार महतोका अनुसार, यो सडकले दुर्गम क्षेत्रलाई सहरी पूर्वाधारसँग जोड्दै दीर्घकालीन आर्थिक र सामाजिक परिवर्तन ल्याउनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर