काठमाडौँ भदौ ९ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको र बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावका कारण आज देशका विभिन्न प्रदेशहरूमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका धेरै स्थानहरूमा मध्यम वर्षा हुने देखिएको छ भने कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको संभावना पनि छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरीको खतरा समेत रहँदैछ।
आज राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू साथै देशका अन्य पहाडी र तराई भू–भागमा मध्यम वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी जारी गरिएको छ।
