चार प्रदेशमा वर्षा तीव्र हुने पूर्वानुमान, बाढीपहिरोको जोखिम बढ्यो

काठमाडौँ भदौ ६ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा सक्रिय रहेकाले देशभर मौसम बदली भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानहरूमा वर्षा भइरहेको छ।

पोखरामा पछिल्लो एक घन्टामै ४२।६ मिलिमिटर वर्षा मापन गरिएको छ। यसैगरी, पर्वतको पचासेमा १७।४ मिमि, लमजुङको फलेनीमा १४।६ मिमि र कास्कीको सिकलेसमा १३।७ मिमि वर्षा भएको छ।

महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा पनि केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। रातिको समय देशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने केही स्थानहरूमा मध्यम वर्षा र गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद्हरूले सतर्कता अपनाउन र सम्भावित बाढी तथा पहिरोको जोखिमबाट जोगिन सुझाव दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर