भारतबाट थप ८० मेगावाट विद्युत् खरिदको बाटो खुल्यो

काठमाडौँ भदौ ६ । भारतले नेपालका दुई जलविद्युत् आयोजना– मेवाखोला र करुवासेतीबाट उत्पादित ८० मेगावाट विद्युत् खरिद गर्न स्वीकृति दिएको छ। यससँगै भारतमा निर्यात हुने कुल विद्युत् १,०९०.९ मेगावाट पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, बिहीबार भारतले संखुवासभास्थित ४८.५ मेगावाट क्षमताको मेवाखोला जलविद्युत् आयोजना र म्याग्दीस्थित ३१.०४ मेगावाट क्षमताको करुवासेती हाइड्रोपावर आयोजना मार्फत उत्पादित विद्युत् खरिद गर्न अनुमति दिएको हो। दुई देशबीच भएको द्विपक्षीय सम्झौता अन्तर्गत मध्यम अवधिको यो अनुमति सन् २०२५ अगस्ट २१ देखि २०२६ अक्टोबर ३१ सम्मका लागि दिइएको प्राधिकरणले जनाएको छ।

यसअघि नै भारतले नेपालबाट १,०१०.९ मेगावाट विद्युत् खरिद गर्न सहमति जनाइसकेको छ। पछिल्लो स्वीकृतिसँगै भारततर्फ कुल विद्युत् निर्यात अनुमतिमा उल्लेखनीय वृद्धि भएको हो। नेपाल हाल बंगलादेशमा पनि ४० मेगावाट विद्युत् निर्यात गर्दै आइरहेको छ। भारत र बंगलादेशमा गरि कुल विद्युत् निर्यात स्वीकृति १,१३०.९ मेगावाट पुगेको प्राधिकरणको जानकारी छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार निर्यात क्षमतामा भइरहेको वृद्धि ऊर्जा व्यापारमा नेपालको सम्भावना उजागर गर्ने संकेत हो।

प्रतिक्रिया
सम्बन्धित खवर