मधेशमा प्रभावकारी विद्युत् वितरणका लागि ऊर्जामन्त्रीको कडाइ

जनकपुरधाम भदौ ५ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुख्खाग्रस्त घोषित मधेश प्रदेशमा सिँचाइ प्रयोजनका लागि आवश्यक विद्युत् आपूर्ति प्रभावकारी र सुरक्षित ढंगले सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

बिहीबार जनकपुर पुगेका मन्त्री खड्काले पुराना ट्रान्समिसन लाइन र ट्रान्सफर्मर मर्मत गर्न तथा विद्युत् चोरी नियन्त्रणमा लिन विशेष जोड दिएका हुन्। उनले वर्तमान अवस्थाले विद्युत् आपूर्तिमा समस्या उत्पन्न गरिरहेको उल्लेख गर्दै व्यवस्थापन सुधारको खाँचो औंल्याए। सिँचाइका लागि आवश्यक विद्युत् कसरी प्रभावकारी ढंगले पुर्‍याउने भन्नेबारे निर्देशन दिएका छौँ, मन्त्री खड्काले भने, मधेशमा विद्युत् चोरीको समस्या बढी छ, त्यसलाई रोक्न जरुरी छ।

उनले सिँचाइका लागि आवश्यक विद्युत् प्रवाहलाई प्राथमिकता दिन र ट्रान्समिसन संरचनाहरूको क्षमताअनुसार व्यवस्थापन गर्न पनि निर्देशन दिए। ऊर्जामन्त्रीको यो निर्देशन सुख्खा याममा कृषिमा परेको असरलाई न्यूनिकरण गर्न, सिँचाइ सुविधा सहज बनाउन र विद्युत् सेवा भरपर्दो बनाउन केन्द्रित छ।

प्रतिक्रिया
सम्बन्धित खवर