काठमाडौँ भदौ ५ । मनसुनको न्यूनचापीय रेखा औसत स्थानको तुलनामा दक्षिणतर्फ सरेको हुँदा हाल नेपालमा मनसुन केही कमजोर बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यद्यपि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर भित्रिरहेका कारण केही स्थानहरूमा वर्षा सम्भावना कायमै रहेको बताइएको छ। महाशाखाका अनुसार बिहीबार दिउँसो देशका पहाडी भू(भागमा सामान्य बदली रहनेछ भने तराई लगायत अन्य भू(भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। पहाडी क्षेत्रमा तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। रातिको मौसम पनि सामान्य बदली रहनेछ। विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ। मौसमविद्हरूले पहाडी क्षेत्रका बासिन्दालाई सम्भावित पहिरो तथा साना नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएका छन्।
