काठमाडौँ भदौ ४ । खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता भएको बताएका छन्। आज नेपाल हाइड्रोजियोलोजिकल एसोसियसनले आयोजना गरेको प्रथम नेपाल जलभूगर्भ सम्मेलन २०२५ को उद्घाटन समारोहमा मन्त्री यादवले भूमिगत जलको दिगो व्यवस्थापनका लागि अनुसन्धान र अध्ययनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
मन्त्री यादवले भनिन्, “राष्ट्रको समृद्धिका लागि भूमिगत जलको सदुपयोग, प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनका प्रभाव न्यूनिकरणका लागि वैज्ञानिक योजना आवश्यक छ।” उनले नागरिकको प्राथमिक आवश्यकता खानेपानीको सहज आपूर्ति रहेकोले यस क्षेत्रमा प्रभावकारी काम गर्नुपर्ने बताए।
जलवायु परिवर्तन र अनियन्त्रित जनसंख्याको वृद्धिले सतही जलस्रोतमा दबाब परेको उल्लेख गर्दै मन्त्री यादवले यसको असर भूमिगत जल स्रोतमाथि पनि परेको र यसले दीर्घकालीन रूपमा समस्या निम्त्याउन सक्ने चेतावनी दिए। तराई क्षेत्रका लाखौं नागरिकको जीवनसँग जोडिएको भूमिगत जलको महत्व अझै व्यापक रूपमा बुझ्न नसकिएको बताए। मन्त्री यादवले भने, “हामी प्रायः हिमालबाट बग्ने नदी, ताल र झरनाको चर्चा गर्छौं तर हाम्रो समृद्धिको ठूलो हिस्सा जमिनमुनि लुकेको भूमिगत जल हो। यो अदृश्य तर अमूल्य स्रोत कृषि, उद्योग र दैनिक जीवनका लागि अत्यन्त आवश्यक छ।”
