काठमाडौँ साउन २९ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा हाल पश्चिम नेपालतर्फ सरेको जनाएको छ। यसका कारण आगामी २४ घण्टामा मनसुन पश्चिमी भूभागमा बढी सक्रिय हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार देशभर आज पूर्णतया बदली मौसम रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ भने बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि वर्षा भइरहेको छ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने अपेक्षा छ। यस्तै, यी प्रदेशका पहाडी र तराईका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ भने गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका केही ठाउँमा भारी वर्षाको पनि जोखिम रहेको छ।
विशेष गरी गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा भारी वर्षाले भूक्षय, बाढी र पहिरोको खतरा बढ्ने भएकाले महाशाखाले सचेत रहन आग्रह गरेको छ। साथै, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको जनाइएको छ। आज सूर्योदय बिहान ५;३४ बजे र सूर्यास्त साँझ ६;४३ बजे हुनेछ।
