काठमाडौँ साउन २९ । रक्षा मन्त्री मानवीर राईले काठमाडौँ–तराई मधेस द्रुतमार्गको काम ०८३ भित्रै सकिने विषयमा शंका व्यक्त गरेका छन्। राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति र चुनौतीहरूबारे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको छलफलमा मन्त्री राईले यो बात राखेका हुन्।
मन्त्री राईले सरकारले फास्ट ट्र्याकमा काम गरिरहेको भए पनि, मेलम्ची जलाशय आयोजना जस्तै परियोजना लामो समय लिन सक्ने बताए। उनी भन्छन्, “०८३ भित्र यो सडक पुरा हुनेमा विश्वास गरिरहेको छैनौं तर यसले लामो समय नलाग्ने निश्चित छ।” सडक निर्माणमा जमिनको समस्या पनि ठूला चुनौतीका रूपमा रहेको उनले बताए। उनले अन्य देशमा जमिन सरकारको नाममा हुँदा सजिलो हुने भए पनि नेपालमा जमिन व्यक्तिको नाममा भएकाले विवाद र अवरोधहरू हुने गरेको उल्लेख गरे।
मन्त्री राईले नेपाली सेनाको कामकाजप्रति पनि धारणा दिँदै भने, “नेपाली सेना जुनसुकै सरकारको समयमा पनि अनुशासित र देशप्रेमी भएर अघि बढिरहेको छ।”
