धनुषा साउन २७ । जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा उत्तरतिर सरेर तराईनजिक पुगेको जनाएको छ। यसको प्रभावस्वरूप आज देशभर मौसम बदली रहने र धेरै स्थानहरूमा वर्षा हुने पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू (भागहरूका धेरै स्थानमा र तराईका केही क्षेत्रहरूमा मध्यम वर्षा हुनेछ। विशेष गरी कोशी प्रदेशको पहाडी भू–भागमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। आज राति देशभर पूर्ण रूपमा बदली रहने अनुमान छ। मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रहरूमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
मधेस, कोशी र बागमती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ भने गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। विभागले वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
