काठमाडौँ साउन २६ । मनसुनको न्यून चापीय रेखा सामान्य स्थानभन्दा उत्तरतिर नेपाल नजिक रहेको छ। देशभर पूर्ण रूपमा बदली रहँदा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ भने बाँकी प्रदेशका थोरै ठाउँमा समेत वर्षाको प्रभाव छ।
बाढी पूर्वानुमान महाशाखाले आज बिहानको मापनअनुसार कोशी नदीका सहायक नदीहरूको बहाव सतर्कता तहको नजिक रहेको जानकारी दिएको छ। तर नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीहरूको बहाव भने सतर्कता तहभन्दा तल छ। सोमबार दोलखा, सिन्धुपाल्चोक, डडेलधुरा, कैलाली, कञ्चनपुर लगायतका जिल्लाहरूमा साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ। यसले ती क्षेत्रहरूमा आकस्मिक बाढीको मध्यम जोखिम उच्च हुने पूर्वानुमान गरिएको छ।
त्यसैगरी ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सिन्धुली, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, म्याग्दी, प्युठान, बर्दिया, रुपन्देही, नवलपरासी पश्चिम, डोटी र बैतडी जिल्लाहरूमा पनि साना नदीहरूको बहाव बढ्ने छ। यहाँ आकस्मिक बाढीको मध्यम जोखिम मध्यम रहने सम्भावना छ।
बाढी पूर्वानुमान महाशाखाले जनतालाई सतर्क रहन र नदी किनारमा अनावश्यक रूपमा नजाने अनुरोध गरेको छ। साथै सम्बन्धित स्थानीय तह र सुरक्षा निकायहरूले पनि आवश्यक तयारी र अनुगमन तीव्र पार्न निर्देशन दिइएको छ।
