बारा साउन २० । मनसुन सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा मधेस प्रदेशका बारा र सिराहा जिल्लामा सबैभन्दा धेरै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग सिमरा शाखाका अनुसार सिमरा, निजगढ ९बारा० र गोलबजार ९सिराहा० क्षेत्रमा ७१ देखि ७७ मिलिमिटरसम्म वर्षा मापन गरिएको छ। विभागका मापदण्डअनुसार ५० मिलिमिटरभन्दा बढी पानी परेमा त्यसलाई भारी वर्षा मानिन्छ।
शुक्रवार साँझदेखि मधेस प्रदेशका केही जिल्लाहरूमा वर्षा सुरु भए पनि बारा, पर्सा र रौतहटमा भने शनिवार साँझदेखि मात्र वर्षा सुरु भएको थियो। सिमरा मौसम कार्यालयका सहायक मौसमविद् लक्ष्मण कँडेलका अनुसार, सप्तरीको बर्मझिया र महोत्तरीको गौशालामा भने छिटफुट वर्षा मात्र भएको छ। अन्य जिल्लाहरूमा रौतहटको महेशपुरमा ३४ मिलिमिटर, सर्लाहीको पथ्थरकोटमा ४०, धनुषाको तुलसीमा ३७ र पर्साको ठोरीमा ३५ मिलिमिटर वर्षा मापन गरिएको छ।
यसअघि शनिवार र आइतबारको अवधिमा रौतहटमा १३३ मिलिमिटर वर्षा मापन गरिएको थियो, जुन पछिल्लो समयको सबैभन्दा उच्च मापन हो। मौसमविद् कँडेलका अनुसार, लामो सुख्खा र खडेरीपछि सुरु भएको मनसुनी वर्षाले मधेसमा तापक्रम घटाएको छ भने धान खेतीको तयारीमा रहेका किसानहरूलाई राहत मिलेको छ। हाल मधेस प्रदेशको औसत तापक्रम २६ देखि २८ डिग्री सेल्सियसबीच रहेको छ।
मौसम विभागका अनुसार, सामान्यतया जेठ १५ देखि असोज १५ सम्मलाई मनसुन अवधि मानिन्छ। तर यस वर्ष मनसुन करिब दुई महिनापछि गत शनिवारदेखि मात्रै सुरु भएको हो। मधेस प्रदेशका ८ जिल्लामा करिब २५ वटा जल तथा मौसम केन्द्र छन्, जहाँबाट दैनिक वर्षा तथा तापक्रमसम्बन्धी विवरण संकलन गरिन्छ।
