विराटनगर साउन १६ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आफूविरुद्ध लगाइएको मुद्दालाई राजनीतिक प्रतिशोधको उपज भनेका छन्। आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफूमाथिको आरोपको आधार नै भ्रष्टाचार नभएको स्पष्ट पारे।
“मेरो त भ्रष्टाचारको केस नै होइन,” अध्यक्ष नेपालले भने, “मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयअनुसार भएको प्रक्रिया हो, जसबाट नेपाल सरकारलाई एक रुपैयाँ पनि नोक्सानी भएको छैन।”
उनले यस प्रकरणलाई नियोजित रूपमा राजनीतिक पूर्वाग्रहसहित अघि सारिएको दाबी गरे। “मैले जिन्दगीमा एक पैसा तलमाथि गरेको छैन,” भन्दै उनले आफू विरुद्धको कारबाहीमा व्यक्तिगत इमानदारीमाथि प्रश्न उठाइनु अन्याय भएको बताए। नेपालले यस्ता कार्यले स्वच्छ राजनीतिक अभ्यासमा प्रश्न खडा गर्ने भन्दै निष्पक्ष छानबिनको माग गरे।
