डिप बोरिङ स्थलमा विद्युत् पहुँच पुर्याउन मातहत कार्यालयलाई निर्देशन

जनकपुरधाम साउन १३ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मधेश प्रदेशका सुख्खा समस्या भएका क्षेत्रहरूमा डिप बोरिङ जडान हुने स्थानमा विद्युत् सेवा छिटो उपलब्ध गराउन मातहतका कार्यालयलाई निर्देशन दिएका छन्।

मंगलबार जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्रमा प्रदेशका सबै वितरण प्रमुखहरूसँगको छलफलका क्रममा शाक्यले स्थानीय तह र सम्बन्धित निकायहरूसँग समन्वय गरी विद्युत् तार, पोल, मिटर जडानलगायतका काम ५ देखि १० दिनभित्र सम्पन्न गर्न निर्देशन दिए।

सिँचाई सुविधा सहज बनाउन थ्रीफेज लाइन स्थापना आवश्यक रहेको भन्दै उनले प्रक्रिया लम्ब्याउन नहुने र छिटो सेवा प्रदान गर्न मातहतलाई भनाइ राखे। शाक्यले प्राधिकरण व्यवसायीक संस्था भएकाले विद्युत् बिक्रीबाटै सञ्चालन हुने र सरकारले अनुदानमार्फत मात्र चल्ने संस्था नभएको बताए। संस्था घाटामा गएमा दीर्घकालीन रुपमा सञ्चालनमा समस्या आउने भएकोले यस विषयमा सबैलाई बुझाउन आवश्यक रहेको पनि उनले जनाए।

उनले निशुल्क विद्युत् वितरण असम्भव भएको र सिँचाई तथा खानेपानीका लागि सस्तो विद्युत् उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया
सम्बन्धित खवर