Blog

  • पुटिनसामु सी–मोदीले हात मिलाउँदा चीन र भारतमा उत्साह

    पुटिनसामु सी–मोदीले हात मिलाउँदा चीन र भारतमा उत्साह

    काठमाडौं- नेपालका दुई निकट छिमेकी भारत र चीनबीच लामो समयदेखिको तिक्ततापूर्ण सम्बन्धमा सुधारको संकेत देखिएको छ । रूसको कजानमा आयोजित ब्रिक्स सम्मेलनका क्रममा दुई देशका राष्ट्र र सरकार प्रमुखबीचको भेटवार्तापछि लामो समयदेखि चिसिएको सम्बन्ध सुमधुर हुने संकेत देखिएको हो ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच पाँच वर्षपछि पहिलो पटक औपचारिक द्विपक्षीय वार्ता भएको छ । वार्ताका क्रममा दुवै नेताहरूले सीमा क्षेत्रको तनाव मत्थर पार्न दुई देशबीच हुन गइरहेको सम्झौताको स्वागत गरेका छन् ।

    तेस्रो मुलुकमा भएको द्विपक्षीय वार्तामा दुवै नेताहरूले ‘सीमामा शान्ति’ कायम राख्ने प्राथमिकतालाई रेखाङ्कन गर्दै ‘आपसी विश्वास’, ‘आपसी सम्मान’ र ‘आपसी संवेदनशीलता’ लाई सम्बन्धको आधारसमेत बताए ।

    चिनियाँ राष्ट्रपति सीले त ‘आपसी संवाद र सहयोग’ मा जोड दिँदै आफूहरूको भेटवार्तालाई विश्वल समुदायले नियालिरहेको बताए । ‘दुवै देशका जनता र अन्तर्राष्ट्रिय जगतले हाम्रो भेटलाई अत्यन्तै गौर गरेर हेरिरहेको छ,’ मोदीसँग उनले भने ।

    दुई नेताबीचको भेटपछि बीबीसी हिन्दी अनलाइनले ‘पाँच वर्षबाट द्विपक्षीय सम्बन्धमा जमेको बरफ बुधबार रूसको कजानमा त्यो बेला पग्लियो, जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङले द्विपक्षीय वार्ताका दौरान जोश–जाँगरका साथ हात मिलाए’ भन्दै समाचार छापेको छ ।

    चीनको सरकारी अखबार ग्लोबल टाइम्सले पनि मोदी–सी द्विपक्षीय वार्तालाई अवसरको संज्ञा दिँदै भनेको छ, ‘भारत र चीनका मुद्दा समाधानका लागि यो एक अहम् मौका हो । यसको स्वागत गरिनुपर्दछ ।’

    भारत–चीन सम्बन्धलाई नजिकबाट हेर्दै आएका विश्लेषकहरूले पनि दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन मोदी–सी भेटवार्ता अहम् कदम भएको बताएका छन् । जवाहरलाल नेहरू विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. राजनकुमारले भारत र चीनका शीर्ष नेताहरूको भेटवार्ता अहम भएको बताएका छन् ।

    ‘किनकी एक हप्ता अघिसम्म दुई देशबीचमा यस्तो कुनै बैठक–छलफल हुने केही निश्चित थिएन,’ उनले बीबीसीसँग भनेका छन्, ‘दुवै देशले लद्दाखस्थित सीमाक्षेत्रमा ‘डिसइन्गेजमेन्ट’को प्रक्रिया घोषणा गरेपछि मात्रै यो भेटवार्ता भएको छ ।’

    केही विश्लेषकहरू आपसी तनाव कम गर्ने सम्झौता र चीनलाई वार्ताको टेबलमा ल्याउनु भारतको ठूलो जितका रूपमा हेरिरहेका छन् । नयाँ दिल्लीस्थित ‘अब्जर्भर रिसर्च फाउन्डेशन’का अध्ययन तथा विदेश नीति विभागका उपाध्यक्ष प्रोफेसर हर्ष भी पन्तले दुई देशबीच छलफलको सुरुवात अत्यन्तै अहम रहेको प्रतिक्रिया बीबीसीलाई दिएका छन् ।

    बीबीसीको हिन्दीसँग पन्तले भनेका छन्, ‘यो एक प्रकारले भारतको ठूलो जित हो । भारत चार वर्षसम्म ठूलो शक्तिका अघि उभियो । भारतले पटक–पटक सीमा क्षेत्रको स्थिति सामान्य नहुँदासम्म अन्य क्षेत्रमा पनि सम्बन्ध सुमधुर नहुने बताइरह्यो । ताजा सम्झौतामा चीनले यसलाई स्वीकार गर्यो‍ ।’

    सन् २०२० मा पूर्वी लद्दाखको गलवानमा दुई देशका सेनाबीच हिंस्रक झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनका कयौं सैनिक हताहत भएको भनिए पनि क्षतिको विवरण सार्वजनिक गरिएको थिएन ।

    त्यही समयबाट भारत र चीनबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो । विगत पाँच वर्षदेखि दुई देशका शीर्ष नेताहरूबीच द्विपक्षीय वार्ता पनि भएको थिएन ।

    लद्दाख घटनाकोे चार वर्षपछि गत सोमबार (कात्तिक ५) भारतले वास्तविक नियन्त्रण रेखा (एलएसी) मा तनाव न्यूनीकरणका लागि दुई देशबीच सम्झौताको घोषणा गरेको थियो ।

    यद्यपि, यसअघि पनि दुई देशबीच आपसी विवाद समाधानका लागि कयौंपल्ट वार्ताहरू भएका छन् । डोकलाममा दुई देशबीच संकट उत्पन्न हुँदा चीनको वुहानमा सम्पन्न ब्रिक्स सम्मेलनका क्रममा पनि मोदी र सीबीच द्विपक्षीय वार्ता भएको थियो ।

    उक्त भेटवार्तामा पनि ‘वुहान स्पिरिट’लाई अगाडि बढाउने भनिएको थियो । सन् २०१९ मा भारतको चेन्नई नजिकै पर्ने महाबलिपुरममा मोदी र सीबीच छलफल पनि भएको थियो । तर, त्यपछि गलवानमा दुवै देशका सेनाहरूबीच झडप हुन पुगेको थियो ।

    पछिल्लो भेटवार्तालाई चीनले भने आशाका साथ हेरेको छ । चीनको सरकारी अखबार ग्लोबल टाइम्सले लेखेको छ, ‘चीन–भारत सम्बन्धहरूको दिशा वैश्विक ट्रेन्ड्स र क्षेत्रीय समीकरणबाट निर्धारित हुने छ । भारत र चीन पूर्वका दुई महान प्राचीन सभ्यताहरू हुन् । उदाउँदै गरेका विकासशील देशका रूपमा चीन–भारत सम्बन्धहरू महत्वपूर्ण छन् ।’

    ग्लोबल टाइम्सले चीन र भारतले एकता र सहयोग चयन गर्दै आफ्नो स्वतन्त्रता र स्वायत्ततालाई कायम राख्नु पर्ने र आपसी द्वन्द्वबाट मुक्त भएर एक–अर्काको सफलताका लागि प्रयास गर्न आवश्यक रहेको समाचारमा उल्लेख गरेको छ ।

    चीन–भारत मिलापपछाडि पश्चिमा शक्तिहरूसँग लडिरहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चाललाई मानिएको छ । अमेरिकासहित पश्चिमा शक्तिको चर्को दबाब झेलिरहेका पुटिनले विश्व हाँक्ने शक्ति अब पूर्व र एसियातिर ल्याउने कोसिस गरिरहँदा भारत र चीनबीचको तनावले मुस्किल पर्ने अनुमान थियो ।

    यस्तोमा पुटिनले भारत र चीनको नेतृत्वलाई कजानमा वार्तामा मात्रै राख्न सफल भएनन्, दुई देशबीचका अहिलेसम्मका तनावलाई सहयात्रातिर बढाउने सक्ने गरी पहलकदमीसमेत लिएका छन् । भारत र चीनबीच तनाव नभएमा अमेरिका नेतृत्वको पश्चिामा शक्तिलाई टक्कर दिन सकिने पुटिनको निष्कर्ष रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

  • लोसपाले पार्टी कार्यालयका लागि गर्‍यो कार्यविभाजन

    लोसपाले पार्टी कार्यालयका लागि गर्‍यो कार्यविभाजन

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टी कार्यालयका लागि नेताहरूमा कार्यविभाजन गरेको छ । लोसपाका सचिवालय सदस्यलाई दैनिक रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने भनि जिम्मेवारी तोकिएको छ ।

    सचिवालय सदस्यहरू डा.सुरेन्द्र झालाई आइतबार, अभास लाभ सोमबार, मनिष मिश्र मंगलबार, बिनोदकुमार सिंह बुधबार, ज्ञानेन्द्र झा बिहीबार, निर्जला राउत शुक्रबार, पुष्पा ठाकुर र कविन्द्र ठाकुरलाई शनिबार पार्टी कार्यालयमा उपस्थित रहन पार्टीले कार्यविभाजन गरेको छ ।

    त्यस्तै पार्टीको लेवी उठाउने जिम्मेवारी कोषाध्यक्षद्धय निर्जला राउत र कविन्द्र ठाकुरलाई दिएको छ ।

    पार्टीद्वारा विभिन्न क्षेत्रसँग समन्वय गरी कार्य सम्पादन गर्न सहजता प्रदान गर्नका लागि स्वास्थ्य क्षेत्रको जिम्मेवारी अभाष लाभ र ज्ञानेन्द्र झालाई दिएको छ भने निर्वाचन आयोगको जिम्मेवारी सुरेन्द्रकुमार झा र प्रदीप पाठकलाई दिएको छ ।

    त्यस्तै सुरक्षा निकायसँग समन्वय गर्ने जिम्मेवारी डा. सुरेन्द्रकुमार झा र मनिष मिश्रलाई दिएको छ । गैरसरकारी तथा राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्थासँग समन्वय गर्ने जिम्मेवारी पुष्पा ठाकुरलाई दिएको छ भने निजामती कर्मचारीसँग समन्वय गर्ने जिम्मेवारी विनोदकुमार सिंहलाई दिएको छ । त्यसैगरी उद्योग, वाणिज्य तथा व्यापारबारे समन्वय गर्ने जिम्मेवारी निर्जला राउत, कविन्द्रनाथ ठाकुरलाई दिएको छ । त्यस्तै, संघीय मन्त्रीलाई प्रत्येक शुक्रबार पार्टी कार्यालयमा उपस्थित हुन लोसपाले भनेको छ ।

  • शुक्रबार सबै सरकारी कार्यालयमा डेंगु रोकथामको अभियान चलाइने

    शुक्रबार सबै सरकारी कार्यालयमा डेंगु रोकथामको अभियान चलाइने

    काठमाडौँ । सरकारले भोलि (शुक्रबार) १० बजे सबै सरकारी कार्यालयमा सरसफाइ गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डेंगुबाट बच्नको लागि सबै मन्त्रालयसहित सरकारी कार्यालयमा बिहान १० बजे सरसफाइ गर्ने निर्णय गरेको हो ।

    स्वास्थ्यमन्त्री प्रदीप पौडेलको आग्रहमा बढ्दो डेंगु नियन्त्रणका लागि सरसफाइ गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

    उनले भने,‘स्वास्थ्य मन्त्रालयको आग्रहमा भोलि शुक्रबार १० बजेभित्र आ–आफ्नो मन्त्रालयसहित सबै सरकारी कार्यालयमा सरसफाइ गर्ने निर्णय भएको छ । डेंगु नियन्त्रणका लागि सरसफाइ अभियान चलाउने निर्णय भएको हो ।’

  • ज्यान मार्ने धम्कीका बीच सुटिङमा फर्किए सलमान

    ज्यान मार्ने धम्कीका बीच सुटिङमा फर्किए सलमान

    काठमाडौं – बलिउड नायक सलमान खानलाई लरेन्स विस्नोई ग्याङबाट लगातार ज्यान मार्ने धम्की आइरहेको छ । केही महिनाअघि उनको घरमा गोली प्रहार भएको थियो ।

    सोही ग्याङले गत असोज २७ गते सलमान निकट मानिने नेता बाबा सिद्दिकी गोली हानी हत्या गरेको थियो । त्यसको ६ दिनपछि सलमानलाई पुन: ज्यान मार्न धम्की आएको थियो ।

    गत असोज २ गते मुम्बईको ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप म्यासेजमार्फत सो धम्की आएको हो । मुम्बई पुलिसका अनुसार सो धम्कीको सन्देशमा लेखिएको थियो, ‘सलमान खान जीवित रहन र लरेन्ससँगको दुश्मनी अन्त्य गर्न चाहन्छन् भने उनले ५ करोड रुपैयाँ तिर्नुपर्नेछ। पैसा नदिए सलमान खानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ।’

    सो धम्कीपछि सलमानको सुरक्षा कडा बनाइएको छ । सोहीकारण पनि उनी तत्कालै काममा नफर्कने अनुमान गरिएको थियो ।

    यद्यपि सलमान पूर्व योजनाअनुसार काममा फर्किएको पाइएको छ । उनी धम्कीका कारण आफ्ना कुनै पनि पूर्वनिर्धारित काम रोक्ने सोचमा नभएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    इन्डिया टुडेले निर्माण टिम निकट स्रोतको दाबी गर्दै सलमान फिल्म ‘सिकन्दर’को छायाङ्नमा सहभागी भएको बताएको छ । उनी मंगलबारबाट छायाङ्नमा जोडिएको उल्लेख गरिएको छ ।

    छायाङ्नस्थलमा सलमान कडा सुरक्षा घेरामा छन् । आगामी साता अर्थात् दिवालीसम्म उनी छायाङ्नमा रहने बुझिएको छ ।

    त्यस्तै, रोहित सेट्टीको फिल्म ‘सिङ्गम ३’ मा सलमानको केमियो रोल नहटाइने भएको छ । भारतीय मिडियाका अनुसार यस फिल्ममा सलमानले ‘दबङ’ को पात्र ‘चुलबुल पाण्डे‘को चरित्रमा केमियो दिने तय भएअनुसार छायाङ्नमा सहभागी भएका छन् ।

    धम्कीका कारण सलमान छायाङ्नमा सहभागी हुन नसक्ने भन्दै उनको केमियो बिना नै फिल्म प्रदर्शनमा आउने चर्चा चुलिएको थियो । तर, काममा फर्किएसँगै उनी मंगलबार मुम्बईमै ‘सिङ्गम ३’ को छायाङ्नस्थल पुगेका हुन् ।

  • रास्वपाको प्रदर्शनबारे एमाले भन्यो- छानबिन र अनुसन्धान प्रभावित गर्न खोज्नु आपत्तिजनक

    रास्वपाको प्रदर्शनबारे एमाले भन्यो- छानबिन र अनुसन्धान प्रभावित गर्न खोज्नु आपत्तिजनक

    काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले पोखरामा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी आन्दोलनविरुद्ध कडा रूपमा प्रस्तुत भएको छ ।

    एमालेका महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गरेर सरकारलाई सहकारी ठगी प्रकरणको निष्पक्ष न्यायिक निरूपणको वातावरण तयार गर्न आग्रह गरेका छन् ।

    ‘हाम्रो पार्टी अख्तियार प्राप्त निकायवाट भइरहेको अनुसन्धान र अभियोजनको प्रक्रियामा बाधा पुर्‍याउने खालका कुनै पनि प्रकारका गतिविधि नगर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारलाई समेत त्यस प्रकारको गतिविधि नियन्त्रण गर्न स्वच्छ र निष्पक्ष न्यायिक निरूपणको वातावरण तयार गर्न अनुरोध गर्दछ ।’

    एमालेले रास्वपाका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूलाई गालीगलौच गरेको र गलत आक्षेप लगाएको भन्दै आपत्ति जनाएको छ ।

    ‘संसदीय छानबिन समितिले सर्वसम्मत रूपमा औंल्याएको विषयमा छानबिनको प्रक्रिया अघि बढिरहेको अवस्थामा प्रधानमन्त्री र नेपाल सरकारका जिम्मेवार व्यक्ति र निकायविरुद्ध जिम्मेवार व्यक्तिबाटै अमर्यादित अभिव्यक्ति दिने, गालीगलौज र गलत आक्षेप लगाउँदै छानबिन प्रभावित गर्ने गरी भ्रम सिर्जना गर्ने र अस्वस्थ वातावरण बनाउनु अत्यन्त दुःखद विषय हो,’ पोखरेलले भनेका छन् ।

    अनुसन्धान र अभियोजनमा दबाब दिने र प्रभाव पार्ने काम कहीँ कतैबाट हुनु नहुनेमा जोड दिँदै एमालेले न्यायिक निरूपणको काम अदालती प्रक्रियाबाट हुने बैधानिक स्थापित परम्परा स्मरण गराएको छ ।

    ‘यस्तो विषयमा सरकार र त्यसको नेतृत्वलाई जोडेर चर्चा गर्नु, अनुसन्धान र अभियोजन प्रक्रियालाई अनुचित प्रभाव पार्ने कार्य न्यायिक दृष्टिकोणवाट अनुपयुक्त हो,’ एमालेले भनेको छ ।

  • अपाङ्गता अधिकारसम्बन्धी व्यवस्था कार्यान्वयन नभएको गुनासो

    अपाङ्गता अधिकारसम्बन्धी व्यवस्था कार्यान्वयन नभएको गुनासो

    काठमाडौँ, ८ कात्तिकः अपाङ्गता भएका व्यक्तिको अधिकार संविधान, ऐन÷कानुनमा व्यवस्था भएपनि व्यवहारिक रूपमा प्रभावकारी कार्यान्वयन हुन नसकेको सम्बद्ध सरोकारवालाले गुनासो गरेका छन् । जसले गर्दा सेवा सुविधा, समानुपातिक प्रतिनिधित्वसमेत हुन नसकेको उहाँहरूको गुनासो छ ।

    संविधानको धारा ४६, १३३ (२) र (३) बमोजिम अपाङ्गता भएका व्यक्तिलाई प्रतिनिधिसभा र प्रदेशसभामा अनिवार्य रूपमा समानुपातिक प्रतिनिधित्व गराउने कुरा उल्लेख छ । संविधानको धारा ४२ को प्रथम संशोधनले सामाजिक न्यायको हकको उपधारा (१) मा आर्थिक, सामाजीक वा शैक्षिक दृष्टिले पछाडि परेका अपाङ्गता भएका व्यक्तिलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ भन्ने संवैधानिक व्यवस्था गरेको छ । सोही धाराको उपधारा (३) मा अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हकसमेत हुनेछ भन्ने व्यवस्था रहेको छ तर अपाङ्गताको सवालमा यी व्यवस्था कार्यान्वयन हुन सकेका छैनन् ।

    अपाङ्गता अधिकार र विकासका लागि क्रियाशिल नेपालका कार्यकारी निर्देशक डा वीरेन्द्रराज पोखरेलले अपाङ्ता भएकाहरूको हकमा संविधानमा भएका व्यवस्था कार्यान्वयन हुन नसकेको बताउनुभयो । संविधानको धारा १७६ मा प्रदेशसभाको गठनको व्यवस्था गरेको उल्लेख गर्नुहुँदै उहाँ भन्नुहुन्छ,“सोही धाराको उपधारा (७) मा उपधारा (६) बमोजीम राजनीतिक दलले उम्मेदवारी दिँदा अपाङ्गता भएका व्यक्तिसमेतको प्रतिनिधित्व हुने व्यवस्था गर्नु पर्नेछ भन्ने संवैधानिक व्यवस्था छ तर त्यसको कार्यान्वयन भइरहेको छैन”, उहाँले भन्नुभयो ।

    सङ्घीय व्यवस्थानुसार प्रतिनिधिसभा र प्रदेशसभाको दुई पटक निर्वाचन भइसकेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा २८ मा उम्मेदवारको बन्द सूचि तयार गर्ने व्यवस्था गरिएको छ ।

    उक्त दफाको उपदफा ५ मा दलले यस दफाबमोजिम उम्मेदवारको बन्द सूची तयार गर्दा भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिई जनसङ्ख्याको आधारमा अनुसूची १ मा उल्लेख भए बमोजीम दलित, आदिवाशी जनजाति, खस आर्य, मधेशी थारु र मुस्लिम समेतको प्रतिनिधित्व हुने गर्ने भन्ने छ ।

    राष्ट्रिय अपाङग् महासङ्घ नेपालका अध्यक्ष देवीदत्त आचार्यले सर्वोच्च अदालतले समेत निर्देशनात्मक आदेश जारी गरेको र निर्वाचन ऐनको संशोधनको प्रक्रियामा जाँदा संवैधानिक र कानुनी व्यवस्था अनिवार्य समावेश गराउन ध्यान दिनुपर्ने बताउनुहुन्छ ।

  • दुर्गापूजाका साडी मुसहर महिलालाई प्रदान

    दुर्गापूजाका साडी मुसहर महिलालाई प्रदान

    सिरहा :लहानस्थित दुर्गा मन्दिरमा नवरात्रमा भक्तजनले अर्पण गरेका साडी यहाँका अतिविपन्न मुसहर महिलाहरुलाई प्रदान गरिएको छ ।

    दुर्गा पूजा समितिका संयोजक एवं लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले वडा नं १५ शोभापुरका मुसहर समुदायका ९१ जना महिलालाई बुधबार अपराह्न जनही एउटा साडी प्रदान गर्नुभएको हो ।

    समितिका सदस्य विकास शारदाका अनुसार यस वर्षको दुर्गा पूजामा रु आठ लाख ५३ हजार नगद र तीन तोला चार आना सुन सङ्कलन भएको छ । यो गत वर्षको भन्दा रु एक लाख ५३ हजारले बढी हो ।

  • बालुवाजन्य सामग्रीले सप्तकोसीको सतह उच्च हुँदा जोखिम बढ्दै

    बालुवाजन्य सामग्रीले सप्तकोसीको सतह उच्च हुँदा जोखिम बढ्दै

    इनरुवा (सुनसरी), ८ कात्तिक: वर्षायाममा बाढी आउँदा सप्तकोसीको राक्षसी रूप देखिन्छ । पूर्वीपहाडी जिल्ला र अन्य ठूला नदीमा पानीको सतह बढनेबित्तिकै सप्तकोसी नदीमा पानीको बाहव बढ्दै जान्छ र नदी आसपासका क्षेत्रमा तहसनहसको स्थिति बन्दा देश, विदेशको ध्यान सप्तकोसी नदीमा केन्द्रीत हुन्छ ।

    वर्षायाममा पानी र बाढीले भरीभराउ हुने सप्तकोसी नदीमा सुख्खायाममा भने बालुवा नै बालुवा देखिन्छन् । धेरै ठाउँमा त बालुवाका टापु नै देखिन्छन् । यी टापु देख्नेले भन्छन्, “नदीको सतह उच्चो भयो, नदी क्षेत्रमा बालुवा तथा गेग्य्रान भरिँदा वर्षात्मा नदी उर्लिएर त्यस आसपास सुनसरी र सप्तरी क्षेत्रका बासिन्दालाई त्राहिमान बनाउन थाल्यो ।”

    सप्तकोसी नदीमा बर्सेनि बाढीसँगै बगेर आउने बालुवा, लेदो, माटो र गेग्य्रान थुप्रिएर नदीको सतह उच्च हुँदै गइरहेको छ तर यसको व्यवस्थापन नहुँदा नदीको पानी बस्तीमा पस्ने खतरा छ । नेपाली काँग्रेस इनरुवाका उपसभापति प्रदिप ढकाल धेरै वर्षदेखि यो समस्या समाधान नभएको र यसतर्फ सरोकार भएका निकायको समेत ध्यान नगएको बताउनुहुन्छ । “पूर्वमा कञ्चनगङ्घादेखि पश्चिममा लामटाङ हिमाल (गोसाईकुण्ड) सम्मको ठूलो भू–भागमा फैलिएको सप्तकोशी नेपालको सबैभन्दा ठूलो नदी हो । तिब्बत र नेपालका हिमाल, पहाड, तराई हुँदै भारतको गङ्गा नदीमा गएर मिसिने यस नदीले निम्त्याउने विपद्ले यी सबै क्षेत्र नराम्ररी प्रभावित भइरहेका छन् । त्यसैले यसको व्यवस्थापनमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

    सुनकोसी, दूधकोसी, इन्द्रावती, तामाकोसी, अरुण, तमोर, लिखु सहायक नदी मिसिएर बग्ने सप्तकोसी नदीमा बालुवा थुप्रिदै गएपछि नदीको गहिराई कम हुँदै गई सतह पुरिदै जाँदा हरेक वर्ष जोखिम थपिँदै गएको छ ।

    सुनसरीको कोसी गाउँपालिका–६ का देवचन्द्र झाले कोसी नदीको गहिराई कम हुँदै गएपछि आसपास क्षेत्रमा जोखिम बढेर बस्ती नै विस्थापित हुने अवस्था आएको बताउनुभयो ।

    नदीको भूइँसतह माथि उठ्दै गएपछि नदीको बाढी तटबन्ध छेउसम्म आउने गरेको र बस्ती क्षेत्रमा पसेर हरेक वर्ष डुबान हुने गरेको कोसी क्षेत्रका जानकार तथा पत्रकार बाबुराम कार्कीको भनाइ छ । “हिमाली र पहाडी क्षेत्रमा हुने भूक्ष्यका कारण समथर क्षेत्रमा फैलिएको कोसी नदी क्षेत्रको सतह वृद्धि भएको छ । थोरै मात्र पानीको मात्रा बढ्दा पनि बाढीले ठूलो रूप लिने गरेको छ”, उहाँले भन्नुभयो ।

    बराहक्षेत्र–९ का भिम कार्की विगत वर्षमा पहाडबाट ठूलो पानी र बाढी उर्लेर आउँदा पनि खासै असर नपर्ने यस नदीमा पछिल्ला दिनमा सामान्य बाढी आउँदा पनि उग्र रूप देखिने गरेको बताउनुहुन्छ । “पहाडी भूभागमा सामान्य वर्षा हुनासाथ सप्तकोसीमा पानीको मात्रा बढ्ने गरेको छ । नदीले वर्षाका चार महिना (जेठ, असार, साउन, भदौ) आफ्नो रौद्र रूप देखाउँदै आएको छ । बाढीसँगै बगेर आउने बालुवाजन्य सामग्रीले नदी उच्च हँुदै जादा यहाँ बालुवाका टापु बनेका छन् । पहाडी क्षेत्रबाट आएको नदीको पानी बगेर जाने तर पानीसँगै बगेर आउने माटो, बालुवा यही थुप्रिने गर्दा समस्या छ तर सरकारले सफाइमा ध्यान दिएको छैन”, उहाँले भन्नुभयो ।

    इनरुवाका वरिष्ठ पत्रकार शशि कोइराला बाढीमा आउने बालुवाजन्य सामग्री थुप्रेर नदी निर्बाध बग्न नपाएकै कारण समस्या सिर्जना भइरहेको सुनाउनुहुन्छ । कोसी ब्यारेजको ढोकाले पूर्वीपहाडी जिल्लाबाट ल्याउने बालुवा, रुख, माटो, गेग्य्रान निर्वाध रूपमा बग्ने अवस्था नरहेको र त्यसरी थुप्रेका सामग्रीको उचित व्यवस्थापनमा ध्यान दिनुको विकल्प नरहेको उहाँको भनाइ छ ।

    सन् १९६२ मा निर्माण सम्पन्न गरिएको कोसी ब्यारेजका ढोका भारतले आवश्यकतानुसार मात्र खोल्ने गरेको छ ।

    सप्तकोसी डुबान, कटान तथा बाढीपीडित सङ्घर्ष समितिका उपाध्याक्ष लालबहादुर लिम्बुले कोसी नदीले आफ्नो प्राकृतिक सीमा पार गर्दै सतह उच्च हुँदै गएपछि नदीले धार परिवर्तन गर्दै गएको बताउनुभयो । नदीलाई आफ्नै अवस्थामा फर्काउन सतहबाट बालुवाजन्य सामग्री व्यवस्थापन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

    नौ लाख क्युसेक पानी धान्न सक्ने क्षमता भएको नदीमा पछिल्ला केही दशकदेखि एक लाख ५० हजार क्युसेक पानीको बहाव हुनेवित्तिकै निकै समस्या हुने गरेको स्थानीय नेत्र घिमिरेले बताउनुभयो ।

    कोसी योजना विराटनगरका सम्पर्क तथा सह भू–आर्जन अधिकृत प्रमोद पौडेल पनि सप्तकोसी नदीमा गेग्य्रान जम्मा हुँदा वर्षायाममा जोखिम बढेको बताउनुहुन्छ । समस्या बढ्दै गए पनि स्थानीयस्तरमा आफूहरूले केही गर्नसक्ने अवस्था नरहेको उहाँको भनाइ छ । “विसं २०११ वैशाखमा नेपाल र भारत सरकारबीच भएको कोसी योजनासम्बन्धी सम्झौतामा नेपालको अधिकार परामर्श दिने र अनुगमन गर्ने मात्र रहेकाले यहाँको समस्या समाधानका लागि सरकारकै तहबाट पहल गर्नुपर्ने हुन्छ”, पौडेलले भन्नुभयो ।

    सप्तकोसी नदीमा गत भदौ २४ गते राति छ लाख ५५ हजार ३७० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव हुँदा कोसी ब्यारेजमाथि रोड भएर बगेको थियो । यसलाई भारतको गङ्गा नदीले भन्दा बढी बालुवा थुपार्ने नदीको रूपमा चिन्ने गरिन्छ ।

  • पूर्वगृहमन्त्री लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिँदै

    पूर्वगृहमन्त्री लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिँदै

    पोखरा– सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा पेस गर्दैछ ।

    पहिलो पटक थपिएको ६ दिनको म्याद हिजोसम्म रहेकोमा बयान नसकिएपछि प्रहरीले आज म्याद थपका लागि अदालतमा पेस गर्न लागेको हो।

    कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकाले बयान नसकिएको हो ।

    रविसँगै गोरखा मिडिया नेटवर्कमा साझेदार बनेका पूर्वडिआइजी छविलाल जोशीलाई पनि आज म्याद थपका लागि अदालतमा उपस्थित गराइँदैछ ।

    लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेको थियो । जोशी भने असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

  • वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो

    वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो

    वीरगञ्ज (पर्सा), ७ कात्तिकः मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हँुदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

    मुलुकभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रुपमा वीरगञ्ज चिनिन्छ । यहाँबाट चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु १२ अर्ब ६६ लाख ८० हजार बराबरको एक लाख ३५ हजार पाँच सय १८ किलोलिटर हाइस्पिड डिजेल आयात भएको छ ।

    भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेका अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा हाइस्पिड डिजेलको आयात २५ दशमलव ३३ प्रतिशतले घटेको छ । डिजेल आयात घटेसँगै राजस्व सङ्कलन पनि २७ दशमलव ४३ प्रतिशतले घटेको छ ।

    मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत हाइस्पिड डिजेल पाइप लाइनबाट आयात हुने गरेको छभने पेट्रोल ट्याङकरबाट नै ल्याउने गरिन्छ । अमलेखगञ्जस्थित नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यका अनुसार पूर्वाधार तथा विकास निर्माणका गतिविधि कम हुँदा पेट्रोलियम पदार्थको खपत घटेको हो । पूर्वाधार तथा विकास निर्माणका गतिविधि बढ्ने बित्तिकै आयात बढ्ने उहाँको बुझाइ छ । विद्युतीय सवारीसाधनप्रति सर्वसाधारणको आकर्षण बढेसँगै पेट्रोलियम पदार्थको खपत पनि घटेको छ ।

    नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले वर्षायाम र सरकारी निकायले निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी नदिँदा निर्माणक्षेत्रले अपेक्षाकृत गति लिन नसकेको गुनासो गर्नुभयो । हाल निर्माणजन्य सामग्री र उपकरणको आयात घटेको छ । मनसुन र चाडपर्व सकिएपछि विकास निर्माणका गतिविधि चलायमान हुने उहाँको विश्वास छ ।

    चालु आवको तीन महिनामा पेट्रोल आयात पनि घटेको छ । चालु आवको असोज मसान्तसम्ममा रु छ अर्ब ५८ करोड ४६ लाख ८३ हजार बराबरको ७४ हजार सात सय १२ किलोलिटर पेट्रोल आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा पेट्रोलको आयात २२ दशमलव ५२ प्रतिशतले घटेको थियो ।

  • जडीबुटी बिक्रीबाटै मनग्गे आम्दानी

    जडीबुटी बिक्रीबाटै मनग्गे आम्दानी

    धरान (सुनसरी), ७ कात्तिक : सङ्खुवासभाकी फुपुु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो । हिमाल र पहाडमा सङ्कलन भएका जडीबुटी बिक्री गर्न उहाँ लामो समयसम्म टाढा–टाढासम्म पनि पुग्नुभयो ।

    लामो समय तराईदेखि पहाडका विभिन्न स्थानमा डुल्दै जडीबुटी बिक्री गर्नुभएकी शेर्पाले अहिले भने इटहरी उपमहानगरपालिका–६ मा पसल नै सुरु गर्नुभएको छ । जडीबुटीबाट राम्रो आम्दानी हुन थालेपछि उहाँ यतिबेला सङ्खुवासभा छाडेर धरान उपमहानगरपालिका–१५ मा बस्दै आउनुभएको छ ।

    “पहिले टाढाटाढासम्म पुग्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले यसको माग बढ्दो छ, इटहरीको पसलबाट पनि राम्रो बिक्री भइरहेको छ”, उहाँले सुनाउनुभयो ।

    सुरुआती समयमा उहाँ जडीबुटी बिक्री गर्न धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली र रामेछाप हुँदै काठमाडौँ र पोखरासम्म पुग्नुहुन्थ्यो । “सुरुका दिनमा विभिन्न जिल्ला घुम्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले भने अधिकतम मासिक रु एक लाख ५० हजारसम्म आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “जडीबुटी बिक्रीबाट भएको आम्दानीले परिवारको खर्च र सन्तान पढाउन पुगेको छ ।” उहाँले यसै आम्दानीबाट धरानको बगरकोटमा साढे दुई तलाको घर पनि बनाइसक्नुभएको छ ।
    उहाँले सङ्खुवासभा, सोलु भोटखोला, पश्चिमको रोल्पा, डोल्पा, खासादेखि सिक्किम, दार्जिलिङबाट समेत जडीबुटी ल्याउनुहुन्छ । कहिले आफै गएर त कहिले अर्डर गरेकै भरमा इटहरीमा जडीबुटी आइपुग्ने उहाँले बताउनुभयो ।
    उहाँको पसलमा यार्सागुम्बा, चिरैतो, पदमचाल, हर्बो, पाषणभेद, सतुवा, जेठी मधु, चिप्लेकिरा, बिखुमा, पुदिना, रिठ्ठा, टिम्मुरलगायत तीन सयभन्दा बढी जडीबुटी बिक्रीका लागि राख्नुभएको छ ।
    जडीबुटी बिक्रीको अनुमति लिइसकेपछि भने निक्कै सहज भएको उहाँको भनाइ छ । त्यसमाथि बर्सेनि नगरपालिकाले औषधि व्यापारसम्बन्धी तालिम समेत दिने गरेको छ । तालिमले गर्दा आफूलाई यसबारे थप ज्ञान हासिल भएको समेत उहाँले बताउनुभयो ।
    शेर्पा जस्तै धरान–८ का आचुङ्मा भोटे इटहरी–६ को टेङ्ग्रा खोला नजिकै खुला आकाशमुनी पारिलो घाममा जडीबुटी बिक्री गर्दै गर्दा भेटिनुभयो । उहाँ पनि जडीबुटी व्यवसायमा लागेको झण्डै दुई दशक हुन लाग्यो । पछिल्लो समय जडीबुटीबाट आम्दानी राम्रो भएको उहाँले सुनाउनुभयो ।

    पुख्र्यौली घर सङ्खुसभा भएका उहाँ जडीबुटी व्यापारकै लागि १५ वर्षअघि धरान झरेको सुनाउनुभयो । “सुरुआती दिनमा हिमालका जडीबुटी तराई झरेर बिक्री गरी उतै फर्किन्थ्यो, त्यो समयमा अस्पतालको सहज पहुँच नहुँदा बिरामी हुँदा धेरैका लाग जडीबुटीको विकल्प थिएन”, उहाँले भन्नुभयो, “पछिल्लो समय फेरि यसको माग बढेको छ ।” पुर्खाले समेत यही व्यापार गरेकाले आफूले पनि यही पेसा अपनाएको उहाँको भनाइ छ ।

    उहाँले जडीबुटी बिक्रीबाट मासिक रु ६० हजारभन्दा बढी आम्दानी हुने गरेको सुनाउनुभयो । “अहिले जडीबुटीप्रति धेरैको विश्वास बढ्दै गएको छ, काठमाडौँ, विराटनगर, मोरङ, झापालगायतका ठाउँहरुबाट समेत फोन गरेर जडीबुटी अर्डर गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “पहिले जडीबुटीले पनि रोग निको हुन्छ र ? भन्नेहरु पनि अहिले जडीबुटी किन्न थालेका छन् ।”
    इटहरीको पूर्वको हटिया खोला किनारमा जडीबुटीको व्यापार गर्दै आउनुभएका धरानका दावा शेर्पा पनि १० वर्षदेखि यही पेसामा हुनुहुन्छ । उहाँले भन्नुभयो, “जडीबुटी बिक्रीबाटै परिवार राम्रोसँग चलेको छ, दैनिक रु पाँच हजारदेखि १० हजार व्यापार हुन्छ ।” उहाँले पनि नेपालका विभिन्न ठाउँ र भारतबाट समेत जडीबुटी आउने गरेको सुनाउनुभयो ।

  • खेलकुद क्षेत्रको विकासका लागि भगीरथ प्रयास

    खेलकुद क्षेत्रको विकासका लागि भगीरथ प्रयास

    काठमाडौँ, ७ कात्तिक: युवा तथा खेलकुद क्षेत्रको विकासका लागि पाँचवटा नीतिगत तथा कानुनी सुधारका प्रयास प्रारम्भ भएका छन् ।

    युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा नीति, २०८१ को मस्यौदा तयार गरी त्यसमा रायसँगै प्रस्तावित कार्यक्रममा सहमति दिन अर्थ मन्त्रालयसमक्ष अनुरोध गरेको छ ।

    वर्तमान सरकारको एक सय दिनको उपलब्धिमा मन्त्रालयले राष्ट्रिय खेलकुद नीतिको मस्यौदा तयार गरी अर्थ मन्त्रालयमा पठाएको विषयलाई समावेश गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को संशोधन मस्यौदा तयार भए तापनि त्यस सम्बन्धमा कानुन, न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयकोसहमति लिन भने बाँकी रहेको जनाइएको छ ।

    यसअवधिमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका तथा खर्चको आधार, २०८१ को मस्यौदामा मन्त्रालयको तर्फबाट पुनरावलोकन गरी अन्य प्रक्रियाका लागि राष्ट्रिय खेलकुद परिषद् पठाइएको उक्त मन्त्रालयले जनाएको छ ।

    काठमाडौँमा निर्माण हुने मूलपानी क्रिकेट रङ्गशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन तयारीलाई पनि खेलकुद मन्त्रालयले प्रगति विवरणमा समावेश गरेको छ ।