
काठमाडौं — जेनजी युवाका प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका माग पूरा गर्न असमर्थ भएको बताएका छन्।
निर्वाचन आयोग परिसरमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै गुरुङले आफूहरू आगामी २०८४ सालको निर्वाचन २०८२ मा सार्ने उद्देश्यले होइन, न्याय र मागपूर्तिका लागि लडिरहेको स्पष्ट पारे। उनले शहीद र घाइतेका मागहरू सम्बोधन नगरी निर्वाचनमा सहभागी नहुने चेतावनी पनि दिए।
‘हामी निर्वाचनका लागि होइन, न्यायका लागि आन्दोलनमा उत्रिएका हौं,’ उनले भने, ‘धेरै जना शहीद र घाइते भएका छन्, तर गृहमन्त्री अर्यालले हाम्रो विश्वास तोडेका छन्। अहिले सरकारले निर्वाचनलाई मात्रै लक्ष्य बनाएको छ, तर पीडितहरूको न्याय सुनिश्चित भएको छैन।’
गुरुङका अनुसार, जेनजीका मागहरू पूरा नभएसम्म उनीहरू चुनावमा नजाने अडानमा छन्। उनले गृहमन्त्रीबाट न्यायको आशा हराएको भन्दै आन्दोलनलाई निरन्तरता दिने बताए।
साथै, उनले जेनजी आन्दोलनलाई केवल नेपाल सरकारको विरोधका रूपमा चित्रित गर्ने प्रयासप्रति आपत्ति जनाउँदै हरेक नेपालीले देश निर्माणमा सहभागी हुनुपर्ने धारणा राखे।
