बेपत्ता व्यक्तिको हत्या? झापामा शव गाडिएको फेला

झापा कार्तिक १५ । गत कात्तिक ९ गतेदेखि बेपत्ता सरोज शर्माको शव शनिबार बिहान शिवसताक्षी नगरपालिका–१०, माईधारको विरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा फेला परेको छ। मृतक ३३ वर्षीय शर्मा आईटी पेशामा काठमाडौंमा बस्दै आएका थिए र दसैँ–तिहार मनाउन घर आएका थिए।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार शर्माको कार दुई दिनअघि मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र जलेको अवस्थामा फेला परेको थियो। शव कार फेला परेको स्थानदेखि करिब २०–२२ किलोमिटर टाढा पुलमुनि भेटिएको थियो। प्रहरीको अनुसन्धानमा घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ। अनुसन्धानको क्रममा उनीहरूको बयानका आधारमा शव खोज्न पुलमा पुगेको प्रहरीले जनाएको छ। प्रहरीले हत्यामा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि गरिरहेको छ।

शव फेला परेपछि आक्रोशित स्थानीयले माईधारमा पक्राउ परेकामध्ये एक व्यक्तिको घर तोडफोड गरेका छन्। त्यस्तै, मृतकको शव बोक्न प्रयोग भएको आशंकामा एउटा टेम्पो पनि स्थानीयले तोडफोड गरेका छन्। डीएसपी खड्काका अनुसार घटनाको प्रकृति हेर्दा हत्या चार दिनअघि भएको देखिन्छ। हत्यामा संलग्न केही व्यक्तिहरू लागुऔषध प्रयोगकर्ता रहेको दाबी गरिएको छ। प्रहरी अनुसन्धान जारी राख्दै छ र सबै तथ्य पत्ता लगाउने प्रयास भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ