भोजपुर कार्तिक १५ । भोजपुरको षडानन्द नगरपालिका–४ मा शनिबार भएको ट्याक्टर दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार चाम्लादाङबाट दिङ्लातर्फ काठ बोकेर आउँदै गरेको प्रदेश १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा षडानन्द नगरपालिका–४ केराबारीका २५ वर्षीय चालक आइतबहादुर तामाङ र अरुण गाउँपालिका–४ चरम्बिका १७ वर्षीय नवीन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस दुर्घटनामा परी १९ वर्षीय दाछिरि शेर्पा, २३ वर्षीय अम्बर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीय सुनिता तामाङ घाइते भएका छन्। उनीहरूको दिङ्ला नगर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाको कारण अनुसन्धान भइरहेको जनाएको छ।





