काठमाडौँ असोज २४ । देशमा बढ्दो संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै नेपाली सेनाले आवश्यकतानुसार शान्ति सुरक्षा कायम गर्न सक्रिय पहल गरिरहेको जानकारी दिएको छ।
जनसम्पर्क तथा सूचना निर्देशनालयमार्फत सार्वजनिक अपिलमा सेनाले आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले मूल्यांकन गर्दै शान्ति स्थापनामा आवश्यक कदम चालिएको उल्लेख छ। छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको अवगत गराउन चाहन्छौं, अपिलमा भनिएको छ।
सेनाले हालको संवेदनशील अवस्थाका कारण विभिन्न टिकाटिप्पणी र धारणाहरू सार्वजनिक भइरहेका अवस्थामा आफ्नो औपचारिक धारणा भने आधिकारिक सामाजिक सञ्जालमार्फत मात्र सार्वजनिक गर्ने स्पष्ट पारेको छ। नेपाली सेनाले हालको परिस्थिति गम्भीर रूपमा लिएको संकेत दिँदै सबै पक्षलाई संयमित रहन र तथ्यमा आधारित जानकारी मात्र ग्रहण गर्न अपिल गरेको छ।
