काठमाडौँ असोज १ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले इतिहासका कमजोरीहरूलाई वस्तुनिष्ठ रूपमा समीक्षा गर्दै मुलुकमा शान्ति, स्थिरता र समृद्धि ल्याउनुपर्नेमा जोड दिनुभएको छ। भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नुपर्ने उनले बताउनुभएको छ।
बुधबार जारी शोक वक्तव्यमा नेता नेपालले जेनजी आन्दोलनमा शहिद भएका युवाहरूप्रति साँचो श्रद्धाञ्जली तब मात्र हुने बताए जब मुलुकले रोजगारी सिर्जना गरी आर्थिक–सामाजिक रुपान्तरण गर्ने वातावरण तयार गर्नेछ। यसले युवाहरूलाई देशमै बसेर योगदान दिन उत्प्रेरित गर्नेछ। अध्यक्ष नेपालले सबै राजनीतिक दल, नागरिक समाज, राज्य र निजी क्षेत्रले हातेमालो गरेर सहकार्य गर्न तत्परता व्यक्त गर्नुभएको छ।
नेपालले भने, ‘जेनजी आन्दोलनका जायज मागहरूलाई समयमा सम्बोधन गर्न नसक्दा तत्कालीन सत्ताधारीहरूको अहंकारले दर्जनौं होनहार युवाहरूले जीवन गुमाउनुपरेको छ। यो घटना मुलुकका लागि अपूरणीय क्षति हो।’ उनले भ्रष्टाचार, कुशासन, बेरोजगारी र युवा पलायनका कारण देशको विकासमा बाधा आएको समेत उल्लेख गर्दै ‘राजनीतिका नेताहरू र जनताको जीवनशैलीबीचको फरकले पनि समस्या झन् जटिल बनाएको छ’ भनेका छन्।
