काठमाडौँ असोज १ । ‘जेनजी’ आन्दोलनपछिको अस्थिरता र सुरक्षाको कारण शिवपुरीस्थित नेपाली सेनाको संरक्षणमा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तीन दिनभित्र आफ्नो गृहमा फर्कने तयारीमा छन्। एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमार्फत यो जानकारी सार्वजनिक गरेका छन्।
बस्नेतले ओलीको गृह प्रवेश कार्यक्रमलाई हजारौं समर्थकको उपस्थितिमा भव्य रूपमा सम्पन्न गराउने योजना रहेको बताएका छन्। उनले सुरक्षासँग सम्बन्धित समन्वय र आवास व्यवस्थापनको तयारी तीव्र गतिमा भइरहेको पनि बताए।सञ्चारकर्मीहरूसँगको कुराकानीमा बस्नेतले ‘जेनजी’ आन्दोलनलाई देशका लागि पराजयको दिन भने र तत्काल उत्सव मनाउने समय नभएको स्पष्ट पारे। उनले नेतृत्व परिवर्तनको बहसलाई “बेमौसमको बाजा” भन्दै अहिले पुनर्निर्माण र गम्भीर चिन्तनको आवश्यकतालाई जोड दिएका छन्।
