चीन भदौ १५ । शाङ्घाई सहयोग संगठन एससीओ शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज नानकाइ जिल्लास्थित चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन गरेका छन्।
चिनियाँ क्रान्तिका अगुवा तथा चीनका पूर्वप्रधानमन्त्री चाउ एनलाई र उनकी धर्मपत्नी तेङ यिङ्चाओको सम्झनामा निर्माण गरिएको संग्रहालय अवलोकनमा प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, मन्त्रीहरू रघुजी पन्त र बद्रीप्रसाद पाण्डे, सल्लाहकार डा। युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा। कृष्णप्रसाद ओली लगायतको सहभागिता थियो। प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शनिबार भदौ १४ चीन आएका हुन्। आजै बिहान प्रधानमन्त्रीको टोलीले चीनको धान उत्पादन विशेष क्षेत्रको पनि अवलोकन गरेको थियो।
शाङ्घाई सहयोग संगठनको शिखर सम्मेलन आजदेखि सुरु हुँदैछ। प्रधानमन्त्री ओलीले सोमबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेपाली प्रतिनिधिमण्डल बुधबार नेपाल फर्कने कार्यक्रम छ।
