भारत भदौ ३ । हिन्दी र मराठी फिल्म तथा टेलिभिजनका चर्चित चरित्र अभिनेता अच्युत पोतदारको निधन भएको छ। ९१ वर्षीय पोतदारको सोमबार राति मुम्बई नजिकै ठाणेस्थित जुपिटर अस्पतालमा निधन भएको हो।
गम्भीर स्वास्थ्य समस्या देखिएपछि उनलाई सोमबार अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। अस्पताल स्रोतले उनको मृत्युको पुष्टि गरेको छ। अन्तिम संस्कार आज ठाणेमै गरिने जनाइएको छ। सन् १९८० को दशकबाट अभिनय यात्रा थालेका पोतदारले तेजाब, परिंदा, अर्ध सत्य, लगान, रंगीला, लगे रहो मुन्नाभाई र थ्री इडियट्स जस्ता थुप्रै चर्चित हिन्दी फिल्महरूमा स्मरणीय भूमिकामा देखिएका थिए। उनले ९० भन्दा बढी टेलिभिजन सिरियल र २५ भन्दा बढी नाटकहरूमा समेत अभिनय गरेका थिए।
मध्य प्रदेशको जबलपुरमा जन्मिएका पोतदारको करियरको सुरुवात शिक्षकका रूपमा भएको थियो। पछि उनले सेनामा सेवा गरे र १९६७ मा क्याप्टेन पदबाट अवकाश लिए। त्यसपछिका वर्षहरू उनले इन्डियन आयल कर्पोरेसनमा वरिष्ठ पदमा काम गर्दै थिएटर कलाकार सत्यदेव दुबेबाट अभिनय सिके। उनको बहुपक्षीय करियरले भारतीय चलचित्र र टेलिभिजनमा गहिरो छाप छोडेको छ। उनी केवल अभिनेता होइनन्, एक शिक्षक, सैनिक र प्रशासकका रूपमा पनि परिचित थिए।
