टिल्हीस्थित तपसी बाबा कलेजमा मेदान्ताका चिकित्सकद्वारा दुईदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

जनकपुरधाम ।
धनुषा जिल्लाको हँसपुर नगरपालिकाअन्तर्गत पर्ने टिल्हीस्थित तपसी बाबा कलेजमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। मेदान्ता रिसर्च क्लिनिक जनकपुरधामका संचालक तथा वरिष्ठ चिकित्सक एसो. प्रो. डा. दिग्यबिजय कुमार ठाकुरको आयोजनामा हुने उक्त शिविर आगामी पुष ११ र १२ गते (शुक्रवार र शनिवार) सञ्चालन हुने जनाइएको छ।

शिविरमा नेपालको प्रतिष्ठित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकहरूसहित जनकपुरधामका चर्चित तथा अनुभवी चिकित्सकहरूले सहभागिता जनाउनेछन्। शिविरमार्फत सबै प्रकारका रोगको परीक्षण, परामर्श तथा आवश्यक औषधि पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइने आयोजक पक्षले जनाएको छ।

शिविर आयोजनाका अगुवा समाजसेवी गंगाराम यादव ‘आनन्द’का अनुसार उक्त स्वास्थ्य शिविरको औपचारिक उद्घाटन नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवमधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले संयुक्त रूपमा गर्ने कार्यक्रम तय भएको छ। उद्घाटन समारोहमा मेदान्ताका चिकित्सकहरूसहित उपस्थित विशेषज्ञ चिकित्सकहरूले स्वयं स्वास्थ्य परीक्षण गर्दै शिविरको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।

समाजसेवी यादवले धनुषा क्षेत्र नं. २ अन्तर्गतका ग्रामीण क्षेत्रका बासिन्दाहरू जाडो मौसमका कारण विभिन्न स्वास्थ्य समस्याबाट प्रभावित हुँदै गएको उल्लेख गर्दै ती समस्यालाई मध्यनजर गरी शिविरको आयोजना गरिएको बताए। अत्यधिक चिसोका कारण हुने श्वासप्रश्वास, जोर्नी दुखाइ, उच्च रक्तचाप, मधुमेह, छाला रोग, स्त्री तथा बाल रोगलगायत विभिन्न रोगको समयमै पहिचान र उपचारका लागि शिविर उपयोगी हुने उनको भनाइ छ।

उनले धनुषा जिल्लाभरिका स्वास्थ्य समस्यामा रहेका सबै नागरिकहरूलाई शिविरमा उपस्थित भई निःशुल्क सेवा लिन आग्रह गर्दै भने, “ग्रामीण तथा विपन्न समुदायका नागरिकहरू महँगो उपचार र टाढाका अस्पताल जान नसक्ने अवस्थालाई ध्यानमा राखेर यस्तो शिविरको आयोजना गरिएको हो। जिल्लाका कुनै पनि नागरिक आएर शिविरबाट लाभ लिन सक्नुहुन्छ।”

स्थानीय तह, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाको सहयोगमा आयोजना हुन लागेको उक्त शिविरले सर्वसाधारणको स्वास्थ्यप्रति सचेतना बढाउने र समयमै रोग पहिचान गरी उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ