तलब नपाएको भन्दै कमला नगरपालिकाका शिक्षकहरूले गरे सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द

जनकपुरधाम ।
पूर्वी धनुषाको कमला नगरपालिकाभरिका सामुदायिक विद्यालयहरू अनिश्चितकालीन रूपमा बन्द भएका छन्। नगरपालिकाले लामो समयदेखि शिक्षकहरूको तलब–भत्ता नदिएको विरोधमा शिक्षकहरू आन्दोलित बनेका हुन्।

साउन महिनादेखि तलब नपाएको भन्दै नगरभरिका विद्यालयका शिक्षकहरूले विद्यालय बन्द गरी मंगलबारदेखि कमला नगरपालिकाको कार्यालय अगाडि धर्ना सुरु गरेका छन्। दैनिक रूपमा कार्यालय नजिकै बसेर उनीहरूले नगरपालिका विरुद्ध नाराबाजी गर्दै दबाब सिर्जना गरिरहेका छन्।

चालु आर्थिक वर्ष २०८२/०८३ का लागि नगरसभा हुन नसक्दा कमला नगरपालिकाको सम्पूर्ण प्रशासनिक कामकाज प्रभावित बनेको छ। विगत ९ वर्षदेखि जनप्रतिनिधिहरूबीच चल्दै आएको आन्तरिक किचलोका कारण नगरसभा हुन नसकेको र त्यसको प्रत्यक्ष असर शिक्षक तथा कर्मचारीहरूको तलब–भत्तामा परेको शिक्षकहरूको आरोप छ।

नगरसभा नहुँदा शिक्षक मात्र नभई अन्य कर्मचारीहरूले समेत तलब पाउन सकेका छैनन्। यद्यपि, विभिन्न राजनीतिक दल सहभागी कार्यपालिकाले निर्णय गरेमा तलब उपलब्ध गराउन सकिने व्यवस्था भए पनि कार्यपालिकामै सहमति नजुट्दा समस्या जटिल बन्दै गएको बताइएको छ।

नगर प्रमुख विशेश्वर यादवले शिक्षकहरूसँग एक महिनाको समय माग्दै सो अवधिभित्र तलब भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि त्यसको लिखित वा ठोस ग्यारेन्टी दिन नसक्ने बताएपछि शिक्षकहरू थप आक्रोशित बनेका छन्।

कमला नगरपालिका–२ स्थित जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक जगरनाथ यादवको संयोजकत्वमा गठित शिक्षक आन्दोलन समितिले माग पूरा नभएसम्म विद्यालय नखोल्ने अडान लिएको छ। समितिले तलब–भत्ताको सुनिश्चितता नआएसम्म आन्दोलन जारी रहने स्पष्ट पारेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ