प्रचण्डको लगानी भनिएको रिसोर्टमा आगजनी: एक जना थुनामा, ६ जना धरौटीमा रिहा

पोखराको वरपिपल रिसोर्टमा ‘प्रचण्डको लगानी’ भएको दाबी गर्दै आगजनी र तोडफोड भएको घटनामा संलग्न ठहरिएका सात जनामध्ये एक व्यक्तिलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने बाँकी छ जनालाई धरौटीमा रिहा गरिएको छ।

जेनजी आन्दोलनको दोस्रो दिन, भदौ २४ गते, सो रिसोर्टमा व्यापक क्षति पुगेको थियो। किटानी जाहेरीका आधारमा पक्राउ गरिएका सात जनामाथि चलाइएको मुद्दामा जिल्ला अदालत कास्कीले सुनुवाइ गर्दै २९ वर्षीय रुपक नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। रुपकको संलग्नतासम्बन्धी पर्याप्त शंका नहटेको अदालतले बताएको छ।

त्यसैगरी, महेन्द्र नेपाली र एलिशा गुरुङलाई दुई–दुई लाख रुपैयाँ धरौटीमा छाड्ने निर्णय गरिएको छ भने कुमराज गुरुङ, घनश्याम राउत, नवराज खड्का र खड्कबहादुर थापालाई तीन–तीन लाख धरौटीमा रिहा गरिएको छ।

यसअघि पनि जेनजी आन्दोलनकै क्रममा १४ जना पुर्पक्षका लागि थुनामा पठाइएका थिए।

पक्राउ परेकाहरूविरुद्ध प्रहरीले आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धान चलाइरहेको छ। प्रहरीले रुपक नेपाली अर्धनग्न अवस्थामै रिसोर्टमा आगजनी गर्न पुगेको फोटो तथा भिडियो प्रमाण फेला पारेको जनाएको छ। उनी पोखरा रंगशालामा बडिबिल्डिङ प्रशिक्षण दिने व्यक्ति रहेको पनि खुलेको छ।

वरपिपल रिसोर्टमा आगजनीका कारण तीन पर्यटक बस, तीन गेस्ट कार, स्पा, लबी, बारसहित धेरै भौतिक संरचना जलेर नष्ट भएका थिए। साथै, तोडफोडपछि लुटपाटसम्म पुगेको रिसोर्टका सञ्चालक अमरजंग गुरुङ (जितु)ले बताएका छन्।

तीन दशकदेखि पर्यटन व्यवसायमा सक्रिय गुरुङले प्रचण्डको लगानी रहेको अफवाहकै कारण आफूले निर्माण गरेको ब्रान्ड र विश्वसनीयतामा गम्भीर क्षति पुगेको दुखेसो पोखे।
“तीस वर्षको परिश्रम र बैंक ऋण लिएर बनाएको व्यवसाय एक झूटो हल्लाका कारण आगजनी र लुटपाटको निशानामा परेको छ,” उनले भने, “तर, हामी सेवा–गुणस्तरमा सम्झौता नगरी अघि बढिरहेका छौं।”

जेनजी आन्दोलनले सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पोखरा प्रमुख स्थान बनेको थियो। सोही दिन पोखरामा मात्रै २७ प्रहरी चौकी, २७ निजी घर तथा व्यवसाय र ११६ वटा सरकारी कार्यालयमा तोडफोड, आगजनी तथा लुटपाट भएको रिपोर्ट गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर