ब्राजिलमा भीषण आँधी: ५ जनाको मृत्यु, १३० भन्दा बढी घाइते

एजेन्सी कार्तिक २२ । दक्षिणी ब्राजिलका विभिन्न भागहरूमा शुक्रबार आएको भीषण आँधीबेहरीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको र करिब १३० जना घाइते भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन्।

स्थानीय मौसम सेवाका अनुसार पाराना राज्यको रियो बोनिटो डो इगुआकु नगरपालिका सबैभन्दा बढी प्रभावित क्षेत्र हो। आँधीका कारण सवारीसाधन पल्टिनुका साथै कयौँ घरहरू क्षतिग्रस्त भएका छन्। सिभिल डिफेन्स विभागले जारी गरेको विज्ञप्तिमा पराना राज्यका धेरै स्थानमा आँधीको प्रभाव परेको जनाइएको छ। त्यहाँ ३० जना गम्भीर घाइते र करिब सय जना सामान्य घाइते भएको स्थानीय उद्धार एजेन्सीले जनाएको छ।

पारानाको वातावरणीय प्रविधि तथा अनुगमन प्रणालीका अनुसार रियो बोनिटो डो इगुआकुमा हावा १८० देखि २५० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको थियो। तीव्र गतिको हावाले रूख ढाल्नुका साथै घर र पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। पारानाका गभर्नर रतिन्हो जुनियरले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सेनालाई परिचालन गरिएको र गम्भीर रूपमा प्रभावित सहरहरूमा निगरानी र उद्धार कार्य तीव्र पारिएको बताएका छन्। मौसम विज्ञहरूका अनुसार पारानाका साथै सान्ता क्याटरिना र रियो ग्रान्डे डो सुल राज्यहरूमा पनि थप आँधीबेहरीको खतरा कायमै रहेको र सावधानी अपनाउन चेतावनी जारी गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर