जनकपुरधाम कार्तिक २२ । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज राजीनामा दिएका छन्। उनले केहीबेरअघि प्रदेशसभा सभामुख रामचन्द्र मण्डलसमक्ष राजीनामा पत्र बुझाएका हुन्।
आज मधेस प्रदेशसभाको बैठक विश्वासको मतका लागि बसेको थियो। तर मतदानको क्रममा मुख्यमन्त्री सोनलले विश्वासको मत नपाउने निश्चित देखिएपछि बैठक बीचमै बाहिरिएका थिए।
बैठक १० मिनेटका लागि स्थगित गरिए पनि करिब डेढ घण्टासम्म पनि पुनः सुरु हुन सकेन। त्यसपछि सोनलले आफ्नो पदबाट राजीनामा दिएका हुन्। सोनल लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता हुन्। उनी संविधानको धारा १६८(२) बमोजिम गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
त्यस क्रममा उनले ६ दलको समर्थनमा ५७ प्रदेश सांसदको हस्ताक्षरसहित दाबी पेश गरी मुख्यमन्त्री बनेका थिए। सोनलको राजीनामासँगै मधेस प्रदेशमा फेरि नयाँ राजनीतिक समीकरणको सम्भावना खुलेको छ।






