काठमाडौँ कार्तिक १९ । जनता समाजवादी पार्टी नेपाल जसपा का अध्यक्ष उपेन्द्र यादवले नयाँ पुस्ताको आन्दोलनलाई केवल निर्वाचनसम्म सीमित गरिएको टिप्पणी गरेका छन्।
बुधबारदेखि काठमाडौंमा सुरु भएको जसपाको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले भने, “युवा पुस्ताले गरेको विद्रोहको उपलब्धि केवल सरकार परिवर्तन र २०८४ को संसदीय निर्वाचन २०८२ मा हुनेमा मात्र सीमित हुने हो कि भन्ने आशंका बढेको छ।” यादवले हाल संविधान संशोधन, निर्वाचन प्रणाली, शासन स्वरूप, समानुपातिक समावेशी र पहिचानको मुद्दा ओझेलमा परेको उल्लेख गर्दै ती विषयलाई पुनः अगाडि ल्याउन आवश्यक रहेको बताए।
उनले भने, “क्रान्तिकारी परिवर्तन भनेको केवल सत्ताको हस्तान्तरण होइन, बरु सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक जीवनमा आमूल रूपान्तरण हो।” निर्वाचन क्षेत्र पुनः निर्धारणको माग गर्दै यादवले समान जनसंख्या आधारित प्रतिनिधित्व प्रणाली र महिला तथा दलित समुदायका लागि आरक्षित क्षेत्रको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए।
यादवले संविधानविपरीत गरिएका कार्यहरू आफ्नो पार्टीले अस्वीकार गर्ने उल्लेख गर्दै विगतका उपलब्धिलाई धरापमा पार्ने षड्यन्त्र भइरहेको आरोप लगाए। साथै, दोस्रो जनआन्दोलन, मधेस र थरुहट आन्दोलनसँग सम्बन्धित छानबिन आयोगका प्रतिवेदनहरू सार्वजनिक गर्न उनले सरकारसँग माग गरे।

Leave a Reply