एजेन्सी कार्तिक १९ । अमेरिकाको केन्टकी राज्यस्थित लुइसभिल विमानस्थलबाट उडेको केही समयमै यूपीएस एयरलाइन्सको एक कार्गो विमान मंगलबार दुर्घटनाग्रस्त भएको छ। राज्यका गभर्नर एन्डी वेशियरका अनुसार दुर्घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। उनले घाइतेमध्ये केहीको अवस्था अत्यन्तै गम्भीर रहेको र मृत्यु हुने संख्या अझ बढ्न सक्ने चेतावनी दिएका छन्।
विमानमा करिब ३८ हजार ग्यालेन इन्धन रहेकोले दुर्घटनापछि ठूलो विस्फोट भएको र नजिकका व्यापारिक भवनहरूमा समेत आगो फैलिएको बताइएको छ। यूपीएसका अनुसार विमानमा रहेका तीन चालक दलका सदस्यहरूको अवस्था अझै अज्ञात छ।
घटनापछि सहरका आपतकालीन सेवाहरू परिचालित भएका छन्। सीएनएनका अनुसार दुर्घटनास्थल वरपर कालो बाक्लो धुवाँको मुस्लो टाढासम्म फैलिएको देखिएको छ। संघीय उड्डयन प्रशासन (FAA) र राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) ले दुर्घटनाको अनुसन्धान सुरु गरेका छन्। एनटीएसबीको ‘गो टीम’ बुधबार केन्टकी पुग्ने बताइएको छ।






