बेमौसमी वर्षाले सर्लाहीमा पाकेको धान नष्ट

सर्लाही कार्तिक १५ । जिल्लामा बेमौसमी वर्षाका कारण भित्र्याउन लागेको धानमा ठूलो क्षति पुगेको छ। बरहथवा नगरपालिका–१४, हरिपूर्वाका किसान विन्देश्वर रायका अनुसार बिहीबारदेखि परेको झरीले काटेर राखिएको धानमा असर पुर्‍याएको छ। उनले भने, “एक विघा खेतको धान कटिसकेको थियो, तर लगातार परेको वर्षाले केही धान कुहिएर नष्ट भइसकेको छ। भिजेको धान केही दिनमै उम्रिन थाल्छ।”

किसान विनोद यादवले पनि समस्यामा परेको बताए। “भित्र्याउने समयमा झरीले धानबालीमा क्षति पुर्‍याउँदा मन अमिलो भयो। गत मङ्गलबार मात्रै धेरैले धान काटेका थिए, तर केही दिन सुकाएर उठाउने प्रयास गर्दा वर्षाले काम बिगार्‍यो,” उनले भने। सर्लाहीमा यसअघि आएको बाढी र हावाका कारण पनि किसान समस्यामा परेको थियो। अहिले परेको बेमौसमी झरीले पहिलेको क्षति अझ बढाएको छ। बागमती नगरपालिका–११ का किसान यज्ञ धिमालले बताए, “बोटमै रहेको धानमा बाला झर्नु, जमिन गल्नु र बोट लड्नु जस्ता समस्या देखिएका छन्। समयमै वर्षा नहुँदा रोपाइँ ढिला भयो र अहिले झरीले थप क्षति पुर्‍याएको छ।”

जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए कि जिल्लाका अधिकांश स्थानमा भित्र्याउन ठिक्क पारेको धानमा ठूलो क्षति पुगेको छ। कृषि शाखा प्राविधिक हिमाल शाहीका अनुसार यसवर्ष जिल्लामा करिब ८० प्रतिशत क्षेत्रमै मात्र धान रोपाइँ भएको थियो, र ढिला रोपाइँका कारण उत्पादनमा गिरावट आउने सम्भावना छ।

प्रतिक्रिया
सम्बन्धित खवर