जनकपुरधाम कार्तिक १४ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषको संयुक्त आयोजनामा सुरु भएको ‘सामा–चकेवा मूर्तिकला निर्माण कार्यशाला’ शुक्रबारबाट औपचारिक रूपमा प्रारम्भ भएको छ।
कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा इङ्गल्यान्ड निवासी मधेस विषयका अनुसन्धानकर्ता माइकल हट्ट प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा विभिन्न कलाकार, अनुसन्धानकर्ता र संस्कृतिप्रेमीहरूको उपस्थिति रहेको थियो। कार्यशालामा सामा–चकेवा पर्वको सांस्कृतिक र कलात्मक पक्ष, यसको सामाजिक सन्देश र नयाँ पुस्तालाई परम्परासँग जोड्ने उपायहरूबारे विस्तृत छलफल गरिएको थियो।
मुख्य अतिथि माइकल हट्टले मिथिला क्षेत्रको सांस्कृतिक गहिराइ र सामा–चकेवा पर्वले समाजमा ल्याउने एकता र आत्मीयताको भावबारे प्रकाश पारे। उनले भने, “स्थानीय कलाकारहरूको सीप र सृजनशीलतालाई विश्वसामु प्रस्तुत गर्न अध्ययन, अभिलेखीकरण र प्रोत्साहन आवश्यक छ। यसले हाम्रो सांस्कृतिक सम्पदालाई दीर्घकालीन रूपमा सुरक्षित राख्न सहयोग पुर्याउँछ।”
त्यसैगरी कोषका अध्यक्ष चौधरीले सामा–चकेवा पर्वलाई मिथिलाञ्चलको सांस्कृतिक पहिचानको जरा भएको बताए। उनका शब्दमा, “यो पर्वले दिदीबहिनी र भाइबीचको प्रेम र आत्मीयताको सन्देश दिन्छ। मैथिली विकास कोषले युवा र विद्यार्थीलाई परम्परागत मूर्तिकला सिक्न प्रेरित गर्दै आएको छ।”
अन्य वक्ताहरूले सामा–चकेवा पर्वमा बनाइने माटाका मूर्तिहरूलाई मिथिलाको कलात्मकता र सामाजिक सम्बन्धको प्रतीकका रूपमा व्याख्या गर्दै यस्ता कार्यशालाले परम्परागत ज्ञान संरक्षणमा टेवा पुर्याउने विश्वास व्यक्त गरे। कार्यशालामा सहभागी कलाकारहरूले सामा–चकेवा पर्वसँग सम्बन्धित विभिन्न मूर्तिहरूको निर्माण अभ्यास गरेका थिए। उनीहरूलाई परम्परागत कलामा आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँपन थप्ने सुझाव पनि दिइयो। मैथिली विकास कोषका अनुसार आगामी दिनमा यस्ता कला–संस्कृति केन्द्रित कार्यक्रमहरूलाई विद्यालय र समुदाय स्तरमा विस्तार गर्ने योजना रहेको छ।कार्यक्रममा कोषका सदस्यहरू श्यामसुन्दर शशी, नित्यानन्द मण्डल, रूबी पाठक, सुधा कर्ण लगायतको सक्रिय सहभागिता रहेको थियो।





