काठमाडौँ कार्तिक १३ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ।
उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलाशमा दुवैको सुनुवाइ हुने कार्यसूची प्रकाशित भएको थियो। तर जोशीका तर्फबाट स्थगितको निवेदन परेकोले सुनुवाइ स्थगित गरिएको अदालतका सूचना अधिकारी रामबहादुर कुंवरले जानकारी दिए। कुँवरका अनुसार, “अर्को बिहीबार साप्ताहिक पेशी तोकिएको छ। दुवै प्रतिवादीको तर्फबाट स्थगितको निवेदन नपरेमा सुनुवाइ हुने छ।” यसअघि लामिछानेको मुद्दामा न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले छविलाल जोशीको मुद्दासँगै दुवै मुद्दा एकसाथ राख्न आदेश दिएको थियो।
बुटवलको सुप्रिम सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गरिसकेका थिए। तर जिल्ला अदालत रुपन्देहीले उनलाई रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए। लामिछानेले आफ्नो हिस्साको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतसहित पेश गरेका थिए भने जोशीले पनि उस्तै रकम जमानत प्रस्तुत गरेका थिए। उच्च अदालतले दुवै प्रतिवादीको भागमा कति बिगो कायम हुने यकिन नभएको कारण रिहा नहुने आदेश गरेको थियो। पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन्। लामिछानेलाई ललितपुर नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भैरहवा कारागारमै छन्।






