जनकपुर बोल्ट्सको बल मजबुत : दक्षिण अफ्रिकाका वायन पार्नेल टोलीमा

जनकपुरधाम कार्ति १३ । दक्षिण अफ्रिकाका अनुभवी पेस बलिङ अलराउन्डर वायन पार्नेल आगामी दोस्रो सिजनको नेपाल प्रिमियर लिग एनपीएल मा साविक विजेता जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्। जनकपुरले बुधबार सामाजिक सञ्जालमार्फत पार्नेललाई टिममा भित्र्याएको घोषणा गरेको हो।

३६ वर्षीय पार्नेलले दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट ३६ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्, जसमा उनले ५९ विकेट लिएका छन् र ३७४ रन पनि जोडेका छन्। समग्र टी–२० करियरमा पार्नेलले ३०० खेलमा ३१७ विकेट र २२०० रन बनाइसकेका छन्। उनले आईपीएल, बीपीएल, एसएटी–२० र द हन्ड्रेड जस्ता विश्वका प्रमुख फ्रेन्चाइज लिगहरूमा समेत अनुभव जुटाइसकेका छन्।

पार्नेलले एनपीएलमा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै भनेका छन्,

“म एनपीएलमा खेल्न पाउँदा निकै उत्साहित छु। मैले नेपाली क्रिकेटप्रति रहेको जोश र समर्थन देखेको छु। जनकपुर बोल्ट्सको उपाधि रक्षा अभियानमा योगदान दिन पाउनु मेरो लागि गर्वको कुरा हो।”

जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरोज खतिवडाका अनुसार पार्नेलको अनुभवले टोलीलाई अझ सुदृढ बनाउनेछ। उनले भने,

“पार्नेलले यू–१९ बाट सुरु गरेको यात्रा हुँदै विश्व क्रिकेटमा आफ्नो पहिचान स्थापित गरेका छन्। उनको आगमनले हाम्रो उपाधि रक्षा अभियानलाई बलियो बनाउनेछ र नेपाली क्रिकेटप्रेमीलाई विश्वस्तरीय प्रदर्शन हेर्ने मौका दिलाउनेछ।”

यसअघि जनकपुरले लाहिरु मिलान्थालाई पुनः अनुबन्ध गरेको थियो भने वेस्ट इन्डिजका महान् ब्याट्सम्यान शिवनराइन चन्द्रपललाई प्रशिक्षकका रूपमा ल्याइसकेको छ। नेपाल प्रिमियर लिग एनपीएल आगामी मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर