जनकपुरधााम कार्ति ५ । दिपावली सकिएसँगै जनकपुरधाममा अर्को ठूलो धार्मिक पर्व छठको रौनक सुरु भएको छ। मिथिलाञ्चलको सांस्कृतिक र धार्मिक पहिचान बोकेको यो पर्वलाई भव्यता प्रदान गर्न शहरका प्रमुख पोखरी, तलाउ र नदी किनारहरूलाई सरसफाइ गरी आकर्षक रूपमा सजाउने कार्य तीव्र गतिमा भइरहेको छ।
स्थानीय सहयोगमा सरसफाइ
गङ्गासागर, धनुषसागर, अरगजा, रत्नसागर, दशरथ तलाउ लगायतका ऐतिहासिक पोखरी र घाटहरूमा जनसहभागिता सहित सफाइ तथा श्रृङ्गारको काम भइरहेको छ। नीति आयोग, मधेस प्रदेशका पूर्व उपाध्यक्ष डा. भोगेन्द्र झाले पर्वको सामाजिक र सांस्कृतिक महत्त्व झल्किने गरी तयारी गरिएको जानकारी दिएका छन्।
बजारमा किनमेलको चटारो
छठ पर्व नजिकिँदै जाँदा बजारमा आवश्यक सामग्री—जस्तै ठकुवा, भुसवा, केरा, फलफूल, माटाका भाँडा, बाँसका टोकरी, दियो, अदुवा, घैटो आदि—किन्ने उपभोक्ताको भीड बढेको छ। स्थानीय व्यापारी रुक्मिनी साहका अनुसार यो वर्ष सामानको मूल्य विगतको तुलनामा केही बढेको छ।
चार दिनसम्म मनाइने पर्व
छठ पर्व कात्तिक १० गते सोमबारबाट विधिपूर्वक सुरु हुँदैछ। पण्डित कुशेश्वर उपाध्यायका अनुसार छठ पर्वको आरम्भ नहाय खायु विधिबाट हुन्छ, जसमा व्रतालु शुद्ध भोजन गरेर व्रत सुरु गर्छन्। त्यसपछि खरनाु, साँझको सूर्यलाई अर्घ्य, र अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन हुन्छ।
धार्मिक र वैज्ञानिक पक्ष
पण्डित अमरकान्त झाका अनुसार सूर्यको आराधनाबाट सन्तान प्राप्ति, समृद्धि, चर्मरोग निवारण हुने जनविश्वास रहेको छ। ज्योतिषीय दृष्टिले सूर्य दक्षिणायणमा रहँदा यसको किरण मानव स्वास्थ्यका लागि लाभदायक हुने मानिन्छ।
सुरक्षा व्यवस्था कडा
धनुषा जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधाम नगर क्षेत्रका छठघाटहरूमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले सुरक्षाकर्मीको संख्या बढाइने र भीड नियन्त्रणका लागि निगरानी कडा बनाइने बताए।
पौराणिक श्रोत र परम्परा
जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले सूर्य पुराण अनुसार पहिलो पटक अत्रि ऋषिकी पत्नी अनसुइयाले यो व्रत गरेको उल्लेख गर्दै, त्यसपछि यसको परम्परा चलिआएको बताए।
शारीरिक र आध्यात्मिक सन्तुलनको प्रतीक
राजर्षीजनक विश्वविद्यालयका रजिस्ट्रार सत्यनारायण साहले छठ पर्वलाई मानव र प्रकृतिबीचको सन्तुलन झल्काउने पर्वको रूपमा हेर्नुपर्ने बताए। उनका अनुसार सूर्य नै सम्पूर्ण जीवनशक्तिको स्रोत भएकोले यस पर्वमा प्राकृतिक दर्शन समेत समावेश छ।






